झापा– कोरोना महामारीका सामना गरिरहेका झापाका स्थानीय तहले बाढीका कारण उत्पन्न हुन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेका छन् ।


ADVERTISEMENT


मनसुनी वर्षा शुरु भएसँगै झापाका अधिकांश स्थानीय तह डुवान र कटानको चपेटामा पर्ने भएकाले क्षति न्यूनीकरण र रोकथामका लागि आवश्यक स्रोत साधानको व्यवस्थापनमा लागिसकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताएका हुन् ।


ADVERTISEMENT

# # #


जिल्लामा कनकाई, विरिङ, रतुवा, कमल, निन्दा, मेचीलगायत २८ वटा साना ठूला नदीहरु रहेका छन् । हिउँदमा साना देखिए पनि वर्षायाममा बाढी आउँदा यी नदीबाट विगतमा ठूलो धनजनको क्षति हुँदै आएको छ ।

बाढी र कटानबाट हुन सक्ने धनजनको क्षति न्यूनीकरणका लागि स्थानीय तहहरुलाई पर्याप्त स्रोत साधानको व्यवस्था गर्न, त्यस क्षेत्रका बासिन्दालाई उद्धार गरेर सुरक्षित बासस्थानलगायत आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न आग्रह गरिसकेको प्रजिअ तिम्सिनाले बताए ।

जिल्लाको उत्तरी क्षेत्रभन्दा दक्षिणी क्षेत्रमा बढी डुवान र कटान हुने गरेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकालको भनाई छ । उनले विगतमा झै यसवर्ष पनि झापा, गौरीगञ्ज, कचनकवल र बाह्रदशी गाउँपालिकामा पानीको निकास हुने ठाउँ नहुँदा बढी डुवानको जोखिममा रहेको जनाए। उनका अनुसार कमल, विरिङ र रतुवा खोलाले शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकाका विभिन्न स्थानमा कटान गरी सयौं परिवार विस्थापित हुने अवस्था छ । रेडक्रसले बाढी पूर्वतयारी प्रतिकार्य योजना बारे स्थानीय तहहरुलाई जानकारी गराउने तयारी गरेको छ ।

सभापति ढकालले जिल्लामा बाढी आएको खण्डमा प्रभावित क्षेत्रका बासिन्दालाई जानकारी दिनका लागि चार प्रकारले पूर्व सूचना प्रणालीको व्यवस्था गरिएको जानकारी दिए । उनले बाढी आउनुभन्दा ६८, ४८, २४ र तीन घण्टा अगाडि नै सो क्षेत्रका बासिन्दालाई जानकारी दिइने गरेको बताएका छन् । तीन घण्टा अघि दिइने सूचनापछि सम्बन्धित क्षेत्रका बासिन्दालाई स्थानीय तहहरुले स्थापना गरेका सुरक्षित स्थानहरु, विद्यालय, रेडक्रस भवन तथा सार्वजनिक भवनहरुमा सारिन्छ ।

कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लले बाढी प्रभावित क्षेत्रहरुमा रु. २० लाख बजेट नै छुट्याएर काम भइरहेको जनाइन् । उनले गाउँपालिकाका वडा नम्बर १,२,३ कमल खोलामा आउने बाढीका कारण डुबानमा पर्ने र वडा नम्बर ५,६,७ मा रतुवा खोलाले कटान गर्ने हुँदा आवश्यक तयारीमा जुटेको उल्लेख गरिन् । उनका अनुसार, जनताको तटबन्धले कमल र रतुवा खोलाका केही स्थानमा बाँध बाँध्ने काम भइरहेको छ । ‘खोला पस्ने स्थानहरुको पहिचान गरेर बाँसको टाँटीद्वारा बैकल्पिक बाँध बाँध्ने काम विभिन्न वडाहरुले गरिरहेका छन् । भन्नुभयो, “प्रभावित क्षेत्रमा जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गरिरहेका छौं’, काफ्लेले भनिन् ।

त्यसैगरी, गौरीगञ्ज गाउँपालिकाले नदीमा पानीको वहाव बढेसँगै विभिन्न वडाहरु डुबानमा पर्ने हुँदा स्थानीयवासीको उद्धारका लागि आवश्यक सुरक्षा सामग्री रबर बोर्ट र लाइफ ज्याकेटको समेत व्यवस्था गरिसकेको जनाएको छ । रासस