काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्माओली वामपन्थी नरहेको टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


बिहीबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपा पक्ष, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको संयुक्त गठबन्धनद्वारा आयोजित सम्पादकहरुसँगको अन्तक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले उक्त कुरा बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले केपी ओलीभन्दा कांग्रेस नै वामपन्थी भएको जिकिर गरे । ‘उहाँ (प्रधानमन्त्री ओली)ले मलाई फोन गरेर वामपन्थीको सरकार सिध्याउने, कांग्रेससँग मिलेर सरकार बनाउन खोज्नु भयो होइन भन्नुभयो ।’ प्रचण्डले स्मरण गरे, ‘मैँले तपाईंभन्दा त कांग्रेस अहिले सयौँ गुणा वामपन्थी र लोकतन्त्रवादी, क्रान्तिकारी भएर आयो त गर्नुहुन्छ के ? मैँले भनेको यही हो ।’

कांग्रेस लोकतन्त्र, संविधानको रक्षा गर्ने भनेर अडिएको र ओली संविधान सिध्याउन लागेको भन्दै उनले ओली विदेशीको टाङमुनि छिरेको मात्र नभई पूरै आत्मसमर्पण गरेको जिकिर गरे ।

प्रचण्डले आफूहरुभन्दा राम्रा व्यक्ति आए नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । उनले भने, ‘हामीभन्दा राम्रा नेता ल्याउन सकिन्छ भने त हामी छोड्न तयार छौँ । ल भन्नुहोस् आजै, तिमीहरुले सकेनौँ, हामी गर्छौं भन्नुहुन्छ भने पनि ठीकै छ ।’

उनले आफ्नो कुर्सी जोगाउन दलालहरुलाई मन्त्रीमण्डलमा पुर्याउने र देश, लोकतन्त्र र संविधानको रक्षाका लागि लड्ने आफूहरुलाई दाँजेको भन्दै असन्तुष्टि जनाए । उनले थोरै प्रश्न उठ्दा समेत आफूले प्रधानमन्त्रीको पद त्याग गर्ने गर्ने आफू र प्रधानमन्त्री त्याग्नुभन्दा देश नै उडाइदिन्छु भन्ने केपी ओली उस्ताउस्तै नभएको बताए ।

उनले प्रश्न गरे, ‘थोरै प्रश्न उठिसकेपछि अनावश्यक गर्नु भन्दा छोडेर निकास हुन्छ भने छोडिदिने र छोड्नु भन्दा लोकतन्त्र भाडमा जाओस्, संविधान ध्वस्त भए पनि होस्, दलालहरुलाई ल्याएर मन्त्रिमण्डलमा राखेर भए पनि चलाउँछु भन्ने उस्ताउस्तै हो ?’

केपी ओलीकै निरंकुशताका कारण वामपन्थी र दक्षिणपन्थी मिलेर जानुपर्ने अवस्था सिर्जना भएको बताए । ‘हामीले आत्मसमीक्षा गर्ने मौका पायौँ । यस अर्थमा केपी ओलीलाई धन्यवाद दिनुपर्छ ।’ उनले भने, ‘नेगेटिभ रोल खेलेर नेपालका सबै सकारात्मक शक्तिहरुलाई एक ठाउँमा आउने वातावरण बनाइदिएकोमा उहाँलाई धन्यवाद ।’

उनले संयुक्त गठबन्धन कुनै अवसरवादी गठबन्धन नरहेको स्पष्ट पारे ।