काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रालयको जिम्मेवारी हेरफर गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार रिक्त रहेका १७ मन्त्रालयको कार्यभार अर्को व्यवस्था नभएसम्म प्रधानमन्त्री र चार मन्त्रीलाई तोकेकी हुन् ।


ADVERTISEMENT


गत मंगलबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि बनेका जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्ष र एमालेबाट बनेका १७ मन्त्री र ३ राज्यमन्त्रीसहित २० मन्त्रीको नियुक्ति संविधान अनुकुल नभएको भन्दै पदमुक्त गरिदिएको थियो ।


ADVERTISEMENT

# # #


जसअनुसार प्रधानमन्त्री ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन् । रक्षा यसअघि पनि उनीसँगै थियो । यस्तै उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई थप ३ मन्त्रालयको जिम्मेवारी दिइएको छ । पौडेलले अब गृहमन्त्रालय, उद्योग मन्त्रालय र उर्जा मन्त्रालयको समेत नेतृत्व गर्नेछन् ।

यस्तै शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई वन, युवा तथा खेलकुद, श्रम तथा रोजगार र स्वास्थ्य गरी थप ४ मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै भौतिक पूर्वाधारमन्त्री वसन्त कुमार नेम्वाङलाई पनि थप ४ मन्त्रालयको जिम्मेवारी सुम्पिएको छ । उनले अब कृषि, खानेपानी, सूचना तथा सञ्चार र सहरी विकास मन्त्रालय समेत चलाउनेछन् ।

प्रधानमन्त्री ओलीले कानुन मन्त्री लिलानाथ श्रेष्ठलाई भूमि व्यवस्था तथा गरिबी निवारण, महिला बालबालिका तथा जेष्ठ नागरिक, पर्यटन र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पनि दिएका छन् ।

प्रधानमन्त्रीले गत जेठ ८ गते प्रतिनिधिसभा विघटनपछि जेठ २१ र २७ मा पुनः गठन गर्दै जसपा ठाकुर र राजेन्द्र महतो पक्षका ११ जनासहित २० मन्त्री नियुक्त गरेका थिए ।

प्रतिनिधिसभा विघटनपश्चात काम चलाउ बनेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्न नपाउने भन्दै सर्वोच्चमा अधिवक्ता बालकृष्ण न्यौपाने र अधिवक्ता वीरेन्द्रप्रसाद साहले अलग अलगरुपमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।