काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको आठौँ अधिवेशन यही असार १७ गतेका लागि आह्वान गरेकी छन्।


ADVERTISEMENT


उनले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा अन्तरराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा अपराह्न ४ बजे अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपतिले समयसमयमा दुवै वा कुनै सदनको अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । गत पुसमा प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयअघि प्रतिनिधिसभा र राष्ट्रियसभाका अधिवेशन एकै पटक आह्वान हुँदैआएंको थियो ।

सङ्घीय संसद्अन्तर्गत समाजका विभिन्न क्षेत्रमा ख्याति कमाएका प्रबुद्ध समूहको प्रतिनिधित्व रहने ५९ सदस्यीय राष्ट्रियसभाको सातौँ अधिवेशन गत पुस १७ गते प्रारम्भ भई २६ गते अन्त्य भएको थियो । सो अधिवेशनमा चार बैठक बसेकामा सात अध्यादेश पेश गरिएको थियो । एउटा अधिवेशनको समाप्ति र अर्को अधिवेशन प्रारम्भबीचको अवधि छ महिनाभन्दा बढी हुन नहुने संवैधानिक व्यवस्था छ ।

पछिल्लो पटक गत जेठ ८ गते प्रतिनिधिसभा विघटन भए पनि हाल सभामुखमा अग्निप्रसाद सापकोटा तथा राष्ट्रियसभाका अध्यक्षमा गणेशप्रसाद तिमिल्सिना र उपाध्यक्षमा शशिकला दाहाल छन् । हाल राष्ट्रियसभामा नेकपा(एमाले), नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र जसपा नेपालबाट निर्वाचित तथा तीन जना मन्त्रिपरिषद्बाट सिफारिश भई राष्ट्रपतिबाट मनोनीत छन् ।

पछिल्लो पटक गत जेठ ६ र १७ गते निर्वाचित डा खिमलाल देवकोटा (वाग्मती, स्वतन्त्र) र दृगनारायण पाण्डे(लुम्बिनी, कांग्रेस) अधिवेशनमा नयाँ प्रवेशी हुनेछन् ।