काठमाडौँ – आज असार १५ देशभर धान दिवस मनाइँदैछ । किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा अनुसार सरकारले सरकारी तवरबाट यो दिवसलाई मनाउँछ भने ग्रामिण भेगमा पनि किसानहरूले आफ्नै तवरले मनाउँछन् ।


ADVERTISEMENT


असार १५ का दिन एक फेर हिलो टेक्नु भन्ने मान्यता छ । यस दिन रोपाइलाई पर्वको रूपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ । हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् र गीतका भाकामार्फत् आपसमा माया पिरती समेत साट्ने गर्छन ।


ADVERTISEMENT

# # #


यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो । यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ ।

वि.सं. २०६१ साल देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएइको छ । कृषिमा परनिर्भरता बढ्दै गएका कारण उत्पादकत्व बढाउने उद्देश्यले नेपालमा धान दिवस मनाउन थालिएको हो । तर हरेक वर्ष किसानले मलबिउँदेखि उत्पादनपछिको मूल्यको समस्या ज्यूका त्यू रहेकाले कृषिप्रति आकर्षण भने घट्दै गएको देखिन्छ । राज्यले किसानका समस्या हल गर्नका लागि पहल गरेको देखिदैन ।

जसकारण स्वदेशी उत्पादन हुन नसक्दा वर्षेनी अर्बौँको धान आयात गर्नुपर्ने बाध्यता रहेको छ । चालू आर्थिक वर्षको पहिलो ११ महीनामा ४८ अर्बभन्दा बढीको धान र चामल आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठसम्ममा ४८ अर्ब १६ करोडको धान र चामल आयात भएको हो ।

विभागकाअनुसार यस अवधिमा २८ अर्ब ६० करोडको धान र १९ अर्ब ५६ करोडको चामल आयात भएको हो ।