कर्णाली – कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ ।


ADVERTISEMENT


यो बन्दाबन्दीको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको सङ्घका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले जानकारी दिए । “दुई महीनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढङ्गले वितरण हुँदैन”, उनले भने, “यसले गर्दा यो दुई महिनको अवधिमा रु १६ करोडको कारोबार हुन सकेन ।”


ADVERTISEMENT

# # #


अध्यक्ष सुनारका अनुसार नेपाल राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासङ्घलाई दैनिक २० केजी सुन उपलब्ध गराउँदै आएकामा रत्न आभूषण तथा पत्थर व्यवसायी महासङ्घलाई ४० प्रतिशत र सुनचाँदी व्यवसायी महासङ्घलाई ६० प्रतिशत छुट्याउने गरिएको छ र सुनचाँदी व्यवसायी महासङ्घले सुनचाँदी वितरण कार्यविधि, २०६८ का आधारमा त्यो ६० प्रतिशतलाई १०० प्रतिशत मानेर ६० प्रतिशत उपत्यका र ४० प्रतिशत बाहिर जिल्लामा पठाउँछ ।

चालिस प्रतिशत सुन उपत्यकाबाहिरका महासङ्घ आबद्ध ४०–४५ जिल्लाका व्यवसायी सङ्घलाई पठाउँदा मागअनुसारको पूर्ति हुन नसकेको अध्यक्ष सुनारले बताए । उनले भने, “कर्णालीमा करिब १० केजी सुन आवश्यक पर्दछ, तर मासिक एकदेखि तीन केजी सुन आउने गरेको छ । यसले सुन वितरण प्रणालीमा विभेदीकरण बढ्दै गएको छ । यो अवस्था हटाउन सातै प्रदेशस्थित सङ्घका अध्यक्षहरुले स्थायी लेखा नम्बर (प्यान) का आधारमा सुन वितरण माग राख्दै आएका छौँ ।”

सरकारले महासङ्घलाई दैनिक ४०÷५० केजी सुन उपलब्ध गराउनुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ थियो । उनले भने, “हामीले लुटिने, मारिने असुरक्षाका बीचबाट अहिलेसम्म काठमाडौँ पुगेर सुन ल्याउनुपर्ने बाध्यता छ तर अब नेपाल राष्ट्र बैंकको कार्यालय कर्णालीमा स्थापना भइसकेकाले यहीँबाट सुन वितरणको व्यवस्थापन मिलाउन आग्रह गर्दछौँ ।” रासस