काठमाडौँ – राष्ट्रिय धान दिवस मंगलबार विभिन्न कार्यक्रम गरि मंगलबार मनाइएको छ ।


ADVERTISEMENT


विसं २०६१ को सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । यसदिन मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ ।


ADVERTISEMENT

# # #


निजी क्षेत्रबाट र किसानले आफ्नै तरिकाले स्वतःफूर्त रूपमा हिलो खेलेर छिटफुट रूपमा मनाए पनि सरकारीस्तरबाट हुने कार्यक्रम भने औपचारिकतामा मात्रै सिमित छ । दिवसका अवसरमा नेपाल कृषि अनुसन्धान परिषद्को खुमल्टार ललितपुरको फार्ममा स्वास्थ्य मापदण्डको पालना गरी धान दिवस मनाइएको छ ।

कार्यक्रममा कृषि तथा पशुपक्षी विकासमन्त्री वसन्तकु्मार नेम्वाङले सांकेतिकरूपमा धान रोपेका थिए । उनले आधुनिक मेसिनबाट र परम्परागत रूपमा धान रोपेर दिवसको औपचारिक शुभारम्भ गरेका थिए । नेपालको खाद्य र पोषण सुरक्षाका लागि उत्पादनका बृद्धि गर्नै पर्ने उनले बताए । मन्त्री नेम्वाङले प्रविधिको प्रयोग गरे उत्पादन वृद्धिमा जोड दिने धारणा राखे ।

धानबाली कृषि र अर्थतन्त्रको मूल आधार भइसकेकाले यसलाई यान्त्रिकरण र वैज्ञानिकरण गर्दै जाने सरकारको नीति रहेको बताउँदै उनले भने, ‘मेसिनले मान्छेले गर्ने भन्दा अत्याधिक गुणा चाँडो रोपण गरेको छ । त्यसकारण यसको प्रयोग व्यवहारिक छ ।’

यसपटकको दिवसको नारा ‘धान उत्पादनमा वृद्धि : खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि’ भन्ने रहेको छ । मुलुकमा अहिले एक करोड १६ लाख मेट्रिक टन खाद्यान्न उत्पादन हुन्छ । नेपालमा खेती हुने कूल जमिनको ४७ प्रतिशतमा धान खेती हुन्छ । कूल १४ लाख ७३ हजार हेक्टर क्षेत्रफलमा ५६ लाख २१ हजार मेट्रिक टन धान फल्ने कृषि विभागले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल एक प्रतिशत र उत्पादनमा १ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । विभिन्न कारण मानिसमा खाद्य संस्कृतिको परिवर्तनले आन्तरिक उत्पादनले माग नधान्दा चामल आयातको क्रम भने बढ्दो छ ।