काठमाडौँ – नेकपा एमालेले पार्टीको दशौँ महाधिवेशनको तयारीका लागि गठित महाधिवेशन आयोजक कमिटी खारेज गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कमिटीको बैठकले कमिटी खारेज गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT


प्रवक्ता ज्ञवालीका अुनसार आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरिएको छ । पार्टी एकता र सर्वोच्चको फैसलालाई ध्यानमा राख्दै महाधिवेशन कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरिएको उनले बताए । कमिटी खारेज भएसँगै माधवकुमार नेपाल पक्षलाई गरिएका सम्पूर्ण कारबाही पनि खारेज भएको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


बैठकले एमालेको केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्ने निर्णय गरेको छ । सर्वोच्च अदालतले नेकपा एकतालाई खारेज गर्दै एमाले र माओवादी ब्युँताइदिएपछि चैत्र ७ गते बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो । त्यसका लागि पार्टीको केन्द्रीय कमिटीलाई आयोजक कमिटीमा रुपान्तरण गरिएको थियो । तर, सर्वोच्च अदालतले जेठ २७ गते त्यसलाई खारेज गरिदिएको थियो ।

यस्तै बैठकले स्थायी कमिटीमा रामबहादुर थापा बादल, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, रघुवीर महासेठ, रघु पन्त, विष्णु रिमाल र बेदुराम भुसाललाई मनोनीत गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले भारतमा उपचार गराईरहेका एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य लाभको कामना समेत गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।