काठमाण्डौं- कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले आफूलाई प्रत्यक्षमा उम्मेदवार बनाउन पार्टी सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् । उनलाई पार्टीले समानुपातिक सूचीको १ नम्बरमा राखेको छ । समानुपातिक सूचीमा राखिएकोप्रति सिटौलाले पार्टी नेतृत्वसँग असन्तुष्टिसमेत पोखे ।


ADVERTISEMENT


‘म जत्तिको नेता समानुपातिकमा बस्न मिल्दैन । यो मेरो कल्पना बाहिरको विषय हो, मैले सभापतिजीलाई साथीहरूको भावनासहित प्रत्यक्षमा उठ्ने विचार राखेको छु,’ सिटौलाले भने, ‘आइतबारसम्म निर्णय होला ।’


ADVERTISEMENT

# # #


आफू नेपालबाहिर रहेका बेला समानुपातिक सूचीमा आफ्नो नाम राखेको सुन्दा स्तब्ध भएको सिटौलाले बताए । ‘नेपाल फर्कनासाथ मैले सभापतिजीलाई भनें, त्यसपछि जिल्ला गएर साथीहरूको भावना पनि बुझें,’ उनले भने, ‘सबै साथीहरूले चुनाव लड्न सुझाव दिनुभएको छ । साथीहरूको भावनाविपरीत मेरो कुनै स्वार्थ छैन ।’ उम्मेदवार चयन गर्ने कांग्रेसको शक्तिशाली संसदीय समितिमा सिटौला प्रभावशाली सदस्य मानिन्छन् ।

राप्रपासँगको गठबन्धनका कारण सिटौलालाई सभापति देउवाले समानुपातिक सूचीमा राख्ने निर्णय लिएका हुन् । उनी निर्वाचन लडदै आएको झापा–३ राप्रपाको राम्रो प्रभाव भएको क्षेत्रमा पर्छ । सभापति देउवाले चुनावै लडदा सिटौलालाई झापा या अन्य जिल्लाको क्षेत्र रोज्न आग्रह गर्दै आएका छन् । तर, उनी आफू लडदै आएको क्षेत्रबाहेक अन्यत्र जान चाहेका छैनन् । ‘अहिलेसम्म निर्वाचन क्षेत्र बदलेको छैन । अहिले आएर किन बदल्नुपर्‍यो भन्दै आएको छु,’ सिटौलाले भने ।

चुनाव हार्ने भएपछि समानुपातिकमा बसेको भन्दै पार्टीभित्रबाटै टिप्पणी हुन थालेपछि सिटौलाले आफू चुनाव लड्न तयार रहेको धारणा राख्दै आएका हुन् । एक पटक पनि समानुपातिक र प्रत्यक्षबाट सांसद नभएको व्यक्तिलाई समानुपातिकको अवसर दिइनुपर्ने उनको तर्क छ ।

राप्रपासँगको गठबन्धनप्रति पनि सिटौलाले असन्तुष्टि पोखे । एक सिट प्रत्यक्ष जित्न कठिनाइ पर्ने पार्टीलाई ६र७ सिट दिएकोप्रति उनले अप्रत्यक्ष रूपमा असन्तुष्टि जनाए । ‘सरकारको गठबन्धन एउटा पक्ष हो । चुनावी तालमेल अर्कै पक्ष हो । प्रधानमन्त्रीलाई गठबन्धनको सरकार जोगाउनका लागि निर्णय गर्ने अधिकार दिएका छौं,’ उनले भने, ‘तर, अन्य कुराको हकमा त सम्बन्धित व्यक्तिको भनाइलाई पनि ख्याल गर्नुपर्छ नि ।’ – आजको कान्तिपुरबाट