राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर – कृष्णपुर नगरपालिका–२ बाणिका आशाराम (असिराम) डगौरा सय वर्ष पूरा हुनै लागे । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिकलाई उपलब्ध हुने भत्ताको रकम उनले थाप्न पाएका छैनन् ।


ADVERTISEMENT


नागरिकताको प्रतिलिपि नगरपालिकामा पेश गर्न नसक्दा उनले भत्ताको रकम पाउनबाट वञ्चित हुनुपरेको हो । धेरै पटक सामाजिक सुरक्षा भत्ताका लागि उनले निवदेन नदिएका भने होइनन् । नागरिकतानै नभए भत्ताका लागि सिफारिस गर्न सकिँदैन भनेर उनलाई फिर्ता गरियो ।


ADVERTISEMENT

# # #


कैलालीको उदासिपुरमा जमिन्दारको घरमा कमैया बस्दा पञ्चायतकालमै उनले नागरिकता बनाएका थिए । विसं २०६४ मा आएको दोदा नदीको बाढी बस्तीमा छिरेर घरको सामानसँगै उनको नागरिकता राखेको झोला बगाएर लगेको थियो ।

“बाढीले नागरिकतासहितको झोला बगाएपछि नदीको बस्तीमा छिरेको पानी घटेपछि निकै खोजबिन गर्दा भेटेनौं”, उनले भने, “नयाँ प्रतिलिपि लिनका लागि सिफारिस बनाउन उदासीपुर पुगेर कार्यालयमा दौडधुप गर्ने क्षमता नहुँदा बनाउन पाएका छैनौँ । पुरानो गाउँविकास समितिको कार्यालय अब रहेन भन्छन् । कार्यालयमा गएर नागरिकताका लागि पहल गरिदिने कोही छैन ।”

आफू भन्दा कम उमेर भएका व्यक्तिले मासिक रुपमा नगरपालिकाबाट भत्ताको रकम थाप्दै आएका छन् । उनले भने, “कागजात जुटाउन नसक्दा भत्ता पाउनबाट वञ्चित भएको छु । हामी जस्तालाई कसैले हेर्दैनन्”, उनले भने, “भत्ताको रकम पाए परिवारको मुख ताक्नुपर्ने थिएन । अरुकै सहारामा बाच्नुपर्ने अवस्था छ ।”

डगौराले जीवनका ऊर्जावान समय कमैया बसेर बिताए। कमैया छँदै विवाह गरेका उनको श्रीमतीले संसार छाडेको धेरै भइसकेको छ । कमैया मुक्तिको घोषणासँगै २०५७ सालमा सरकारले पुनःस्थापन गराउँदा दिएको पाँच कट्टा जग्गामा छोराका परिवारसँगै उनी बस्दै आएका छन् । डगौराका छोराको स्थायी रोजगारी छैन । परिवार पाल्ने एउटै माध्यम भनेको मजदूरी हो । परिवारका सबै जनाले मजदूरी गरेर ल्याएको पैसाले घरखर्च धानिदै आएको छ ।

दाङमा जमिन्दारको दमन सहन नसक्ने अवस्था भएपछि वर्षौं पहिले बुबा आमासँगै आशाराम तीन वर्षको हुँदा पश्चिमको तराई झरेका हुन । पुर्ख्यौली थातथलो छाडेर तराई झर्दा दुई वटा टोकरी काँधमा बोकेर श्रीमती र छोराछोरीसहित उनका बुबा तराइ झरेका थिए।

दाङबाट कैलाली झरेपछि १५ वर्षको उमेरमै जमिन्दारको घरमा बुबासँगै उनी कमैया बसे । उनले ६० वर्षको उमेरसम्म कमैया बसेर काम गरे । कमैया बस्दा १० किलो धानको बीउ लाग्ने खेत कमाउनका लागि दिने गरिन्थ्यो । त्यसबाटै परिवारको गुजारा चल्थ्यो ।

खर्चका लागि जमिन्दारबाट रकम मागे सौकी(ऋण)का रुपमा रकम जम्मा हुँदै जान्थ्यो । त्यो तिर्न नसकेपछि वर्षौसम्म एकै जमिन्दारको घरमा कमैया भएर बस्नु पर्दथ्यो । वर्षेनी ऋण थपिँदै जान्थ्यो । “ऋण तिर्न सामथ्र्य हुने कुरै थिएन”, उनले भने, “ब्याजमा समेत काम गर्नुपर्दथ्यो । पुरुषले हलो जोत्ने र महिलाले जमिन्दारको घरको काम गर्नुपर्दथ्यो ।” काम गर्दै आएको जमिन्दारको घरमा काम गर्न मन नलागे अर्को जमिन्दारलाई गुहार्नु पर्दथ्यो । ऋणबापत लिएको रकम (सौंकी) उनैले तिर्दथे ।

सो ऋणमा अर्को जमिन्दारको घरमा काम गर्नका लागि बस्नु पर्दथ्यो”, उनले अगाडि कुरा बढाउँदै भने, “पहिले बुबा कमैया बसेँ, त्यसपछि म बसेँ, त्यसपछि केही वर्ष छोरा पनि कमैया बसेका हुन । तीन पुस्ता कमैयामै बिताएका छौं ।” उनले एउटै जमिन्दारको घरमा १२ वर्षदेखि छ वर्षसम्म बिताए । तत्कालीन देखतभूली गाविसको जाइमा कमैया बसेकै बेला उनी सरकारले गरेको मुक्तिको घोषणासँगै मुक्त भएका हुन् ।

विगतका दिन सम्झिँदा उनी निन्द्राबाट बिउझिएझै लाग्ने गरेको बताउँछन्। उनी भन्छन्,“पूरै जीवन अर्काको घरमा कमैया बसेर बिताएँ ।” कमैंया मुक्तिको घोषणासँगै घर जग्गा र रोजगारी पाउने आशा थियो । “घर जग्गा त मिल्यो । रोजगारी पाइएन । सरकारले ज्येष्ठ नागरिकलाई दिँदै आएको भत्ताको रकमसमेत पाउन सकेन”, उनले सुनाए ।

दुःखपछि सुख आउछ भन्थे दुःखीको भाग्यमा सधैँ दुखनै लेखेको हुने रैछ । “सुख जीवनमा कहिल्यै आएन”, उनले भने । सरकाले कमैयाबाटमुक्त गरेर अलपत्र छाडेपछि जीवन चलाउन मुस्किल भएको छ । युवालाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउनका लागि कार्य अगाडि बढाउनुपर्ने उनको भनाइ छ ।

नगरपालिका कार्यालयले मुक्तकमैया परिवार पुनःस्थापन गराइँदा पाएको जग्गाको मालपोतबापत लाग्ने रकम भने मिनाहा गरेको छ । रासस