काठमाडौँ – नेकपा एमालेको विवाद समाधान कार्यदल सकारात्मक दिशातर्फ अघि बढेको छ ।


ADVERTISEMENT


सिंहदरबारमा बिहीबार बसेको बैठकमा विवादीत बिषयमा समाधान खोज्न सकारात्मक छलफल भएको र साँझ नै टुङ्गीने विश्वास नेताहरुले गरेका छन् । दिउँसो आन्तरिक छलफल गरेर बैठक साँझ ७ बजे पुन बस्ने अध्यक्ष केपी शर्मा ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिए । विवाद निष्कर्षमा पुर्याउनका लागि गृहकार्य गर्ने उद्देश्यले स्थगित गरिएको नेम्वाङले जानकारी दिए ।


ADVERTISEMENT

# # #


एमाले पार्टी एकताबद्ध रहेको तयारीसहित घोषणा गर्न लागेको नेम्वाङको दाबी थियो । विवादलाई सहमतिको निष्कर्षमा पुर्याउनका लागि संवाद जारी रहेको र दिनभर नेताहरूबीच विवादबारे छलफल गरेर साँझ ७ बैठक बस्ने उनले जानकारी दिए । उनले भने, ‘साँझ ७ बजे हामी पुनः बस्छौँ । सकभर यसलाई आजै निष्कर्षमा पुर्याउने हाम्रो जोड हुन्छ ।’

त्यस्तै एमालेको माधव पक्षका कार्यदल सदस्य गोकर्ण विष्टले बैठकमा छलफल सहमतिको विन्दुमा पुगेको दाबी गरे । विष्टले आजको बैठकमा हिजोभन्दा धेरै प्रगति भएको बताउँदै लगभग सहमतिको विन्दुमा पुगेको जानकारी दिए । ‘कतिपय विषयमा हिजो भन्दा आज थप प्रगती भएको छ । बाँकी रहेका कुराहरुलाई टुंगो लगाउने गरी आज बेलुका नै अर्को बैठक आयोजना गर्ने गरी अहिलेको बैठक स्थगित गरिएको हो ।’ उनले भने,  ‘छलफलले ५–७ घण्टा समय लिए पनि हामी लगभग हामी समाधानको बिन्दुमा आएका छौँ ।

बैठकपछि दुबै पक्षका कार्यदल सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन् । कार्यदलको बैठकअघि कार्यदल सदस्य विष्णु पौडेल र भीम रावलबीच २ घण्टा छलफल भएको थियो । एमाले विवाद चलिरहेका बेला लामो समयपछि अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार भेटवार्ता भएको थियो ।

कार्यदलमा भीम रावल, सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली र भीम आचार्य रहेका छन् ।