जलेश्वर– गत जेठ २० गते हत्या गरी बेपत्ता पारिएकी महोत्तरीको लोहारपट्टी नगरपालिका– ७ भ्रमपुरा गाउँ बस्ने २७ वर्षीया सुजिता ठाकुरको शव आज बिहान प्रहरीले आधा सडेको अवस्थामा फेला पारेको छ ।


ADVERTISEMENT


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको शव भ्रमरपुरा–जनकपुर सडकखण्डमा भ्रमरपुरा गाउँभन्दा एक किलोमिटर पूर्वमा अवस्थित पेट्रोलपम्पको शौचायलको ट्याङ्कीसँगै १३ फिट गहिरो खाल्डोमा फेला परेको हो ।


ADVERTISEMENT

# # #


सडक सतहदेखि नौ फिट गहिरोमा पेट्रोलपम्पको शौचालय रहेको र शौचालयसँगै टाँसिएर रहेको सुजीताका ससुरा पतिराम ठाकुरको खेतमा खाल्डो खनी शव राखेर माथिबाट ढुङ्गा, बालुवा र सिमेन्टले पक्की ढलान गरेको अवस्थामा प्रहरीले सुजिताको शव बिहान १० बजे फेला पारेको हो ।

देवर रुपेश, ससुरा पतीराम, पति मुकेशसहित छ व्यक्तिले मिलेर सुजिताको हत्या गरी घरदेखि दुई किलोमिटर मनरहिया वनमा अवस्थित आफ्नै खेतमा पाँच फिट खाल्डो खनी गाडेको बताइएको छ ।

घटनाबारे टोल छिमेकबाट सुइँको पाएर माइती पक्षले प्रहरी, मानव अधिकारकर्मी, अधिकारवादी, प्रदेश सरकारका गृहमन्त्री र मधेश आयोगलगायतबाट सहयोग पाएर उनको शव गाडिएको स्थानमा यही असार १३ गते उत्खनन गर्दा प्रहरीले त्यहाँबाट कपाल, रगत, नुन, मलखाद, डोरी र तन्ना बरामद गरेपछि घटना थप रहस्यमय बनेको थियो ।

प्रहरीको डरले गाडिएको शवलाई सेप्टिक ट्यांकीको जगमा सारेर माथिबाट ढलान

शवको अवशेष प्राप्त भएकै दिन प्रहरीले घटनामा संलग्न रहेका आरोपमा उनका देवर रुपेश र पति मुकेशलाई नियन्त्रणमा लिएको थियो । संलग्न व्यक्तिको केरकारपछि आज एक महिना आठ दिनपछि सुजिताको शव फेला पार्न सफल भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
उनका अनुसार, अपराधी समूहले प्रहरीले आशंका गर्ने भयले यसअघि गाडिएको ठाउँबाट शव निकालेर अन्यत्रै दोस्रो स्थानमा गाडेको हो ।

‘यो त दोस्रो स्थान हो । पहिले यहाँभन्दा एक किलोमिटर टाढा रहेको आफ्नै खेतमा गाडिएको थियो’, प्रहरी नायब उपरीक्षक विष्टले भन्दै गए ‘त्यहाँ थाहा पाउँछन् भनेर फेरि उनीहरूले यहाँ ल्याएर गाडेका हुन् ।’

हाल शव गाडिएको ठाउँ काठका मुढाहरू गोदाम जसरी राख्ने गरेका थिए । लामो खालको जग्गा भएको त्यहाँ करिब नौ फिट गहिरो सेप्टिक ट्याङ्की बनेको छ । ‘उनीहरूले ट्याङ्कीको भुइँमा थप चार फिट खाल्डो खनेका छन् । शवचाहिँ बोराभित्र राखेर त्यहाँ गाडिएको अवस्थामा फेला परेको हो’, उनले बताए ।

शव माथिबाट पनि ढलान नै गरेको बताउँदै उनले चार फिटमुनि शव राखेपछि माथिबाट फेरि ढलान गरिएको र त्यसमाथि पनि तीन फिट जति पानी जमेको अवस्थामा शव निकालेको जानकारी दिए । र, घटनास्थल थप लुकाउन उनीहरूले बाहिरबाट पनि काठका मुढाहरू राखेका थिए ।

यसरी निकालिएको शवलाई ठाकुरको माइती पक्षबाट सनाखत गराइएको छ भने प्रहरीले पोष्टमार्टमको लागि प्रदेशिक अस्पताल जनकपुर पठाउने तयारी गरेको छ।