काठमाडौँ– ‘दर्शनशास्त्रको परिचय’ पुस्तक लोकार्पण गरिएको छ । डा गोविन्दशरण उपाध्यायले लेखेका दर्शनशास्त्रको परिचयात्मक पुस्तक जरो किलो प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो ।


ADVERTISEMENT


आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसर पारेर मङ्गलबार पुस्तकको लोकार्पण गरिएको हो । कोभिड महाव्याधिको अवस्था रहेको कारण प्रविधिको माध्ययमबाट पुस्तक लोकार्पण गरिएको थियो । पुस्तकको लोकार्पण शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले गरेका थिए ।


ADVERTISEMENT

# # #


दर्शनजस्तो गहन विषयमा नेपाली भाषामा पुस्तक प्रकाशन भएकाले सर्वसाधारण नेपालीले मौलिक दर्शनको महत्व बुझ्ने अवसर पाएको प्राडा कोइरालाले बताए । पुस्तक समीक्षा गर्दै प्रा.डा आनन्दप्रसाद घिमिरेले समग्र हिमवत् खण्ड ज्ञानभूमि, तपो भूमि रहँदै आएको साक्ष प्रस्तुत गर्दै यहाँको जाज्वल्यमान ज्ञानपरम्पराको सामान्य ज्ञान दिन पुस्तकको पहल सफल रहेको बताए ।

पुस्तक लोकार्पण सत्सङ्ग जरो किलो महाअभियानका सङ्कल्पकर्ता तथा जरो किलो प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष डा निर्मलमणि अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो । सो अवसरमा डा. अधिकारीले प्रतिष्ठानले नेपालको पुनर्जागरणका लागि अन्य गतिविधिसँगै पुस्तक प्रकाशनलाई पनि प्राथमिकतामा राखेको बताएका छन् । प्रतिष्ठानले लेखकहरुको लेखकीय स्वतन्त्रतालाई पूर्ण सम्मान गरेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।

पुस्तकका लेखक डा उपाध्यायले भने पुस्तक मौलिक चिन्तन पद्धतिको सागरको थोपा भएकोजनाएका छन् । पुस्तकमा रहेका कमी कमजोरीलाई पनि आगामी संस्करणमा सुधारिने उनको प्रतिबद्वता छ । प्रतिष्ठानका कार्यवाहक अध्यक्ष श्रीरामप्रसाद पोखरेलले प्रतिष्ठानले धर्म, संस्कृति, भाषा, कला साहित्यका क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरका कार्यहरु सम्पन्न गरिसकेको जानकारी दिए ।

दर्शनशास्त्रको परिचयसँगै जरो किलो प्रतिष्ठान नेपालले आठवटा पुस्तक प्रकाशन गरिसकेको र नवौँ पुस्तक पनि प्रकाशनका क्रममा रहेको जनाए । रासस