झापा– मेची अस्पताल भद्रपुरका डा. केवल कपुरीमाथि बिरामीका कुरुवाले कुटपिट गरेका छन् । उनलाई हल्दिबारी गाउँपालिकाका ४० वर्षीय पुष्पराज निरौलाले आइतबार राति आकस्मिक उपचार कक्षमा कुटपिट गरेका हुन् ।


ADVERTISEMENT


श्रीमती बिरामी भएपछि उपचारका लागि अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका निरौलाले उपचारमा संलग्न डा कपुरीमाथि अनावश्यक विवाद गरी कुटपिट गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा टङ्कप्रसाद बाह्रकोटीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


यस घटनाबाट स्वास्थ्यकर्मीहरुले असुरक्षित महशुस गरेको जनाउँदै डा. बाहृकोटीले भने, ‘बिरामीको उपचार गर्नु हाम्रो कर्तव्य हो, हामी कर्तव्यबाट च्यूत हुँदैनौं, तर उपचार गर्ने डाक्टरमाथि बिना कारण अस्पतालमै कुटपिट गर्ने जुनसुकै दोषीमाथि कडा कारवाही हुनुपर्छ ।’

कुरुवाद्वारा कुटपिट गरिएको डा. कपुरीले घटनाका दोषीमाथि कारवाही गरिपाउँ भन्ने निवेदनका साथ आजै जिल्ला प्रहरी कार्यालयमा उजूरी दिएका छन्, भने घटनाको छानबिन भएर दोषीलाई कारवाही नभएसम्मका लागि स्वास्थ्यकर्मीले अस्पतालका सम्पूर्ण आकस्मिक सेवाहरु बन्द गरेका छन् ।

यता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले भने सो विषयमा बोल्दै उजूरीका आधारमा घटनाको छानबिन गरी दोषी देखिए कारवाही गर्ने जनाएका छन् । रासस