काठमाडौँ– माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले जलवायु परिवर्तन पनि पछिल्लो समय मानव बेचबिखनको कारणका रुपमा देखिएको बताएकी छन् ।


ADVERTISEMENT


माइती नेपालद्वारा आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रियामा अध्यक्ष कोइरालाले हिमाली तथा पहाडी भेगका मानिस सुखको खोजी गर्दै विदेशसम्म जाने हुनाले बेचबिखनको खतरामा परेको बताइन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, “पहिलेको जस्तो सजिलै घाँसदाउरा, पानीलगायतका आधारभूत कुरा पाइन छोडेपछि त्यहाँका मानिस सुखका लागि विदेश जान वा तराई तिर झर्ने क्रममा दलालको सम्पर्कमा आउँदा बेचबिखनको खतरामा परेका छन् ।” त्यसबाहेक असुरक्षित बसाइँसराइ, चेतनाको अभाव, अतिविश्वास, सुखको तीव्र चाहनाले समेत महिला तथा पुरुष तेस्रो मुलुकमा समेत बेचिने क्रम बढेको उनले बताइन् ।

उनले मानव बेचबिखनको स्वरुप बदलिँदै गएको प्रसंगमा पछिल्लो समय दलालले श्रीलंका हुँदै तेस्रो मुलुकमा मानव बेचविखन बढाएको बताइन् । “सञ्चारमाध्यमबाट मानव बेचबिखनबारे जनचेतना विस्तार हुनसकेमा नियन्त्रण प्रभावकारी हुन्छ, यसका लागि हरेक दिन यस विषयमा समाचार आउन आवश्यक छ” उनले भनिन् ।

कान्तिपुरका पत्रकार दिनेश रेग्मीले अहिले पनि ७० प्रतिशतभन्दा बढी महिला कुनै न कुनै प्रलोभनमा परी बेचिइरहेको बताए । कडा र स्पष्ट कानूनको अभाव भएको र भएका कानूनको फितलो कार्यान्वयनका कारण मानव बेचबिखनका घटना बढिरहेको उनले उल्लेख गरे ।

यस्तै पत्रकार लक्ष्मण कार्कीले मानव बेचबिखन भन्नासाथ महिलालाई मात्र सोच्ने मानसिकता सुधार्नुपर्नेमा जोड दिए । उनले सरकारीस्तरमा अहिले पनि यी विषयमा गैरसरकारी संस्थाको जिम्मा लगाई पन्छिने र जिम्मेवार नहुने प्रवृत्तिका कारण यस्ता घटना बढ्दै गएको गुनासो गरे।

संयुक्त राष्ट्रसंघका अनुसार सांगठनिक बेचबिखनमध्ये मानव बेचबिखन तेस्रो नम्बरमा पर्छ । पहिलोमा लागू औषध र दोस्रोमा अवैध हातहतियार बेचबिखन पर्ने बताइएको छ ।

माइती नेपालका अनुसार देशका सबै भागबाट मानव बेचबिखन भइरहेको छ । पोर्चुगल, स्पेन, मलेसिया, मकाउ, श्रीलंका, ओमन, साउदी अरब, कुवेत, केन्या र तान्जानियाजस्ता मुलुकमा नेपाली बेचिइरहेको माइती नेपालले जनाएको छ ।