गाईघाट, उदयपुर– उदयपुरको कटारीबाट ओखलढुंगा जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो जिप आज दिनको २ बजे सिद्धिचरण लोकमार्गअन्तर्गत कटारी नगरपालिका–११ को ठाटीमा दुर्घटना हुँदा नौजनाको घटनास्थलमा नै मृत्यु भएको छ भने दुई जनाको उद्धार गरिएको छ ।


ADVERTISEMENT


इलाका प्रहरी कार्यालय कटारीका अनुसार चालक हरि कार्कीसहित ११ जना यात्रु बोकेर कटारीबाट ओखलढुंगा जाँदै गरेको उक्त जिप ठाटीको सडकको भिरबाट ५०० मिटर तल खस्दा घटनास्थलमा नौजनाको मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


भर्खरै प्रहरी घटनास्थलमा पुगे पनि मृतक यात्रुको शव भिरमा नै अड्किएका कारण निकाल्न कठिनाइ भइरहेको कुरा इलाका प्रहरी कार्यालय कटारीका प्रमुख महेन्द्रकुमार श्रेष्ठले बताएका छन् ।

यता चालकलाई अस्पताल पुर्याएपछि उपचारका क्रममा मृत्यु भएको र आठ वर्षीय बालक र एक महिला भने घाइते अवस्थामा भेटिएका कारण स्थानीयवासीले प्रहरी पुग्नु अगाडि नै उद्धार गरेर निकालेको पनि प्रहरीले बताएको छ ।

घाइते दुईजनालाई अहिले उपचारका लागि कटारी अस्पताल लगिएको पनि प्रहरीले बताएको छ । मृतकका शव पहरामा अड्केका कारण निकाल्न कठिनाइ भएकाले नाम र ठेगानासमेत पहिचान गर्न कठिनाइ भइरहेको पनि प्रहरी प्रमुख श्रेष्ठले बताए ।

घटनास्थलमा अहिले थप प्रहरी फोर्ससहित ठूलो सङ्ख्यामा स्थानीयवासी भेला भएर भिरमा अड्केका शव निकाल्ने प्रयास भइरहेको छ । यता दुर्घटनामा परेको जिप भने ५०० मिटर तल खोलामा खसेको प्रहरीले बताएको छ ।

जिप दुर्घटनाको कारण उकालो बाटोमा बढी लोड भएका कारण जिपले लोड तान्न नसक्दा पछाडि झरेर दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल कटारी बजारदेखि १३ किलोमिटर पश्चिम पहाडी क्षेत्रमा पर्दछ ।