काठमाडौँ– कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।


ADVERTISEMENT


आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजै जागा हुने भएकाले विशेष पूजा गरिन्छ । हरिशयनी एकादशीकै दिनदेखि घर–घरको तुलसी मठमा रोपिएको तुलसीलाई आज भगवान् विष्णुसँग विवाह गरिने प्रचलनसमेत रहेको छ ।


ADVERTISEMENT

# # #


असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास पनि भनिन्छ । यस समयमा चतुर्मास महात्म्यसमेत सुन्ने गरिन्छ । आज उपत्यकाका चार नारायणमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यी चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भागमा रहेको बूढानीलकण्ठ नारायणस्थानमा पूजा एवं दर्शन गरे चार वटै नारायणको दर्शन गरे बराबरको फल पाइने विश्वास छ ।

बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्लपूर्णिमासम्म लाग्ने विशेष मेला शुरु भएको छ । मेला सम्पन्न गर्न बूढानीलकण्ठ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्था सम्मिलित १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

समितिअन्तर्गत आठ उपसमिति बनाइएको अध्यक्ष जयराम थापाले जानकारी दिए । बूढानीलकण्ठमा आज विहान १ बजेदेखि नै पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ । यस वर्ष सात लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको समितिले जनाएको छ ।