सल्लेरी, सोलुखुम्बु– सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत एकैदिन चार दिनको हाजिर गरेर पुनः मन्त्रालय फर्कन बाध्य भएका छन् ।


ADVERTISEMENT


स्थानीय विकास मन्त्रालयको गत असोज ६ गते सचिवस्तरको बैठकले उपसचिव राजेश गिरीलाई सोलुदूधकुण्ड नगरपालिकाको कार्यकारी अधिकृतमा काज सरुवा गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


सोही निर्णयअनुसार मन्त्रालयको असोज ८ गतेको पत्रका आधारमा गिरी यही कात्तिक ८ गते कार्यालयमा हाजिर हुन आए पनि नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले हाजिर हुन दिएका थिएनन् ।

प्रमुख शेर्पाले आफू अनुकूलको कार्यकारी अधिकृत नभएको भन्दै हाजिर गर्न नदिएको कार्यकारी अधिकृत गिरीको आरोप छ । कार्यकारी अधिकृत आफ्नो कार्यालयमा हाजिर हुन आए पनि कार्यालयमा समेत प्रवेश गर्न दिइएको थिएन ।

कार्यालयमा केही युवासमेत परिचालन गरी आफूलाई धम्कीपूर्ण भाषामा कार्यालयमा हाजिर नभई फर्कन प्रमुख शेर्पाले दबाब दिएको अधिकृत गिरीको भनाइ छ ।

स्थानीय विकास मन्त्रालयका सचिव, मन्त्रीसहितको टेलिफोन वार्तापश्चात् नगरपालिकाका अधिकृत गिरीलाई पुनः मन्त्रालय काज बोलाउने टुंगो भएपछि हाजिर गर्न दिइएको छ । प्रमुखको कार्यकक्षमा बसेर कार्यकारी अधिकृतले चार दिनको हाजिर एकैदिन गरेर नगरपालिकाको पत्र बुझ्दै मन्त्रालय फर्कन बाध्य बनाइएको छ ।

नगरपालिकामा भेला भएका विभिन्न राजनीतिक दलका व्यक्ति, जनप्रतिनिधिसमेतको उपस्थितिमा सोमबार उहालाई हाजिर गराइएको हो । नगरपालिकामा जारी विवादका विषयमा बुझ्न सोमबार नगरपालिकाको कार्यालय पुगेका स्थानीयवासीलाई प्रमुख शेर्पाले गाली गर्न खोजेपछि तनाब उत्पन्न भएको थियो ।

प्रमुखको प्रस्तुतिलाई आपत्ति जनाउने स्थानीयवासीलाई प्रमुख शेर्पाले नेमप्लेट उचालेर हान्न खोजेपछि कार्यालयमा झनै तनाब बढेको थियो । उत्पन्न तनावलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । कार्यालयमा उपस्थित जनताले प्रमुखको कार्यशैलीप्रति आपत्तिसमेत जनाएका छन् ।

निमित्त कार्यकारी कुर्सीमा

यता, स्थानीय विकास मन्त्रालयबाट काज सरुवाको पत्र आएपनि सोलुदूधकुण्ड नगरपालिकाकी निमित्त कार्यकारी अधिकृत इन्दिरा थापाले कार्यालय छाडेकी छैनन्। अधिकृत थापालाई असोज १ गते नै सरुवा गर्ने निर्णय भएपनि आजसम्म उनलाई भने रमाना दिइएको छैन ।