भक्तपुर– प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत भक्तपुरमा आलु जोनका रुपमा रहेका क्षेत्रलाई आलुको ब्राण्ड बनाई बजार व्यवस्थापन गर्न यहाँका किसान जुटेका छन् ।


ADVERTISEMENT


किसान कै सक्रियतामा आलु जोन समिति गठन गरी एक हजार ४७० कृषकको १४२ हेक्टर कृषियोग्य जमिनमा सामूहिक खेती शुरु भएपछि कृषक आफैँ आलुको ब्राण्ड निर्माण गरी बजारको व्यवस्थापनमा जुटेका हुन् ।


ADVERTISEMENT

# # #


परियोजनाअन्तर्गत सुडाल र ताथलीलाई गत वर्ष आलु जोन घोषणा गरेसँगै कृषक यसतर्फ आकर्षित भएका छन् । दश वर्षे परियोजनाअन्तर्गत नगरकोट नगरपालिकाको सुडाल, ताथली, बागेश्वरीलगायत स्थानमा ५०० हेक्टर क्षेत्रफलमा व्यावसायिक आलुखेती गर्ने लक्ष्य राख्दै आलुखेतीलाई आधुनिकीकरण गरी ब्राण्ड बनाएर बजार व्यवस्थापन गरिने भएको हो ।

चाँगुनारायण नगरपालिका सुडाल, ताथली र बागेश्वरी आलु उत्पादनको लागि प्रसिद्ध छ । सरकारले आव २०७३/७४ मा आलु जोन परियोजनाका लागि रु ९६ लाख खर्च गरेकोे थियो ।

समितिअन्तर्गतका किसानले उत्पादन गरेको आलुको ब्राण्डसमेत जुराइसकेको समितिका संयोजक भानु पराजलीले बताए । “यहाँ उत्पादन गरिएको आलुलाई आधुनिकीकरण र व्यवसायीकरण गर्नका लागि आलुको ब्राण्ड निर्माणको तयारी गरेका छौँ” उनले भने,– “अब यहाँको आलु नेपालभर नगरकोट आलुका नाममा परिचित हुनेछ ।”

परियोजनाले आलु उत्पादन, प्रशोधन र विविधिकरण गर्न ‘कष्टम हायरिङ्ग सेन्टर’ र पोष्ट हार्वेष्टिङ्ग’ का लागि चारकोठे भवन निर्माणका लागि किसानलाई अनुदान प्रदान गर्न लागेको आलु जोन परियोजना एकाइ प्रमुख किशोर पराजुलीले जानकारी दिए ।

किसान संगठित भई व्यावसायिक कृषि प्रणाली सञ्चालन गर्न, बजार व्यवस्थापन गर्न र आलुको ब्राण्ड निर्माण गर्नका लागि चालु आवमा सरकारले परियोजनालाई रु एक करोड ९६ लाख विनियोजन गरेको उनले जानकारी दिए । कार्यक्रमअन्तर्गत समुदाय परिचालनका लागि रु ५२ लाख निःशर्त पूँजिगत अनुदान र रु १५ लाख निःशर्त चालुगत पूँजी विनियोजन भएको पराजुलीले बताए ।

विनियोजित रकममध्ये किसानले रु १० लाख साना सिँचाइका लागि खर्च गर्नुपर्नेछ । रु १५ लाख रकमबाट किसानका लागि चारवटा एकीकृत शत्रु जीव तालीम सञ्चालन भइरहेको छ । कुल लागतको १५ प्रतिशत किसानले खर्च गर्ने र ८५ प्रतिशत अनुदान पाउने गरी किसानले उत्पादन गरेको आलुको ग्रेडिङ र बासिङ गर्ने मेसिन राख्ने ‘पोष्ट हार्वेटिङ सेन्टर’ को चारकोठे भवन निर्माणको तयारी भइरहेको पराजुलीको भनाइ छ ।

किसानले ५० प्रतिशत अनुदान रकमबाट ‘कष्टम हायरिङ सेन्टर’ समेत निर्माण गर्नेभएका छन् । कष्टम सेन्टरमा किसानको मागबमोजिमका आधुनिक कृषि मेसिन औजार ५० प्रतिशत सहुलियतमा भाडामा दिने व्यवस्था गरिने भएको छ ।रासस