दीपक धिताल, बर्लीन– गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी भएका छन् ।


ADVERTISEMENT


उनले आफ्ना निकटतम् प्रतिस्पर्धी निनम्मा राईलाई २५७ मतान्तरले पछाडि पार्दै एनआरएनए अध्यक्षमा जित हासिल गरेका हुन् । ।


ADVERTISEMENT

# # #


निर्वाचन समितिका अनुसार, नवनिर्वाचित पन्तले ८८२ र राईले ५७१ मत प्राप्त गरेका थिए ।

उनीहरु दुवै निवर्तमान कार्यसमितिको उपाध्यक्षसमेत थिए । दुई खुला उपाध्यक्ष पदमा लोकमणि ढकाल र मेनका त्रिपाठी विजयी भएका छन् । यसअघि महासचिव पदमा रहेका ढकालले अहिले उपाध्यक्ष पदमा ७५१ मत र यसअघि सचिव पदमा रहनुभएकी त्रिपाठीले ५८४ मत ल्याएर उपाध्यक्ष पदमा विजयी भएका हुन् ।

महिला उपाध्यक्ष पदमा करुणा तुलाधर राई आफ्नो प्रतिष्पर्धी राजन देवी गौतमलाई १५८ मतान्तरले हराउँदै ७३२ मतका साथ विजयी भएकी छन् । महासचिव पदमा राजेश सुनार ७७५ मतका साथ विजयी भए । उनी संस्थामा यसअघिका दुई कार्यकाल सचिव रहेका थिए । उनका प्रतिद्वन्द्वी सिजन दाहालले भने ५९९ मत प्राप्त गरेका थिए । उनी नेपाली काँग्रेस निकट जनसम्पर्क समितिकासमेतको प्रवक्ता रहेका छन् । सचिव पदमा निमा राजभण्डारी अर्याल र सुजन बर्तौला विजयी भएका छन् । उनीहरुले क्रमशः ९३६ मत र ५३१ मत प्राप्त गरेका थिए । दुई सचिव पदका लागि भएको निर्वाचनमा तीन जनाको उम्मेदवारी परेको थियो ।

यस्तै, एक अन्तरराष्ट्रिय समन्वय परिषद् सदस्य (आइसिसी) पदका लागि भएको निर्वाचनमा सर्वाधिक ९४३ मतका साथ शङ्कर डाँगी विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धी विनोद अधिकारीलाई ५७४ मतको सर्वाधिक फराकिलो अन्तरले पछि पारेर आइसिसीको यात्रा तय गरेको हो ।

कोषाध्यक्ष पदमा भरत कुमार चलाउने, युवा संयोजकमा सुदिप सापकोटा, सांस्कृतिक संयोजकमा लक्ष्मण जोशी, भाषा तथा बालबालिका संयोजकमा मिरा पौडेल र महिला संयोजकमा सोनी तुलाचन निर्विरोध निर्वाचित भएका छन् ।

एक हजार ५९५ पञ्जीकृत सदस्य रहेको जर्मनीमा एक हजार ४३३ जनाले विद्युतीय प्रणालीमार्फत मतदान गरेका थिए । कूल मतदातामध्ये ८९ दशमलव ८४ प्रतिशतले मतदानमा भाग लिएको प्रमुख निर्वाचन आयुक्त हरेन्द्र वनेमले जानकारी दिए ।

अनलाइन भोटिङको जिम्मेवारी स्पेनको साइटल इलेक्सन टेक्नोलोजी नामक कम्पनीले लिएको थियो । स्पेनको सो कम्पनीले तीन लाख २६ हजार भन्दाबढी विद्युतीय निर्वाचन सम्पन्न गरिसकेको छ । यहि कम्पनीले स्पेनको एनआरएनए निर्वाचन पनि सम्पन्न गराएको थियो । रासस