– राजेन्द्र प्रसाद फुयाल


ADVERTISEMENT


सुनको लङ्का, पुष्पक विमान रावणसँग थियो, राम बनवासमा हुनुहुन्थ्यो । राजपाट कंशसँग थियो, कारावासमा कृष्णले जन्म लिन परेको थियो । राजमहलमा कौरव रहन्थे, वनवास र अज्ञातवास पाण्डवले भोग्नु परेको थियो । राहु–केतुले अमृत ग्रहण गरिसकेपछि पनि राक्षस नै भए, शिवले विष ग्रहण गरेपश्चात् पनि देवताका पनि देवता महादेव हुनु भयो । त्यसै गरी जिससलाई क्रसमा किला ठोकेर मारियो, मन्सुरलाई सम्पूर्ण शरीरका अङ्ग–अङ्ग काटेर मारियो । आज हामी तिनै राम, कृष्ण र शिव … लाई पुज्दछौँ । राहु–केतु वा कसैलाई होइन ।


ADVERTISEMENT

# # #


जब हाम्रो भगवानको जीवन सरल छैन भने हामी त साधारण मनुष्य हौँ । तथापि यदि हाम्रो जीवनमा सङ्घर्ष लेखेको छ भने हामी साधारण पनि होइनौँ । सत्य सुषुप्त हुन सक्छ, समाप्त हुँदैन । सत्य अमूर्त जस्तो लाग्न सक्छ तथापि मूर्तरूपमा प्रकट भएरै छाड्छ । दृष्टिभ्रम हुन सक्छ, यद्यपि यो व्यक्तिको अज्ञानता मात्र हो । समयको गतिसँगै प्रगतिशीलताको खोजले सत्यलाई मूर्त रूपमा ल्याइदिन्छ । समय सापेक्षतालाई स्वीकार गर्न नसक्नेलाई अस्तित्वले तिनै रावण, कंश, कौरव तथा राहु–केतुको रूपमा इतिहासको एक खलनायक बनाइ दिन्छ । जसले जीवनको विशालतालाई बुझ्ने मात्र प्रयास गरेको हुन्छ, उसको जीवन सत्य र असत्यको दोसाँधमा पुगेको हुन्छ; मात्र यु टर्न गरेर अगाडि बढ्ने सहास जुटाए पुग्छ ।

हाम्रो संस्कृतिलाई पुर्वीय संस्कृति भनिन्छ । यद्यपि पुर्वीय संस्कृतिभित्र कन्फ्युशियसको आर्दशवादी तथा मानवतावादी संस्कृति, ताओइजमको शुन्यवाद तथा सम्पूर्णरूपमा प्रकृति अर्थात् अस्तित्वमा सर्मपणको दर्शन शास्त्र पर्दछ । तथापि यस दर्शन शास्त्रको संयोगको रूपमा भगवान बुद्धको दर्शनलाई मानिन्छ । अझ अगाडि भन्नुपर्दा जापान गएर जेन धर्ममा रुपान्तरण भएको पाइन्छ । अर्कोतर्फ पश्चिमी दर्शनको शुरुवाती सोक्रेटिक्स हुँदै प्लेटो, हिगल, माक्र्स एवं एंगेल्स, फ्रेडरिख नीत्शे र बट्रेंड रसेल … सम्म, पूर्ण भौतिकवादी दर्शनलाई महत्त्व दिएको देखिए तापनि हेडगरको “मृत्युको प्ररणा” तथा सात्रको “नासिया” सम्म आइपुग्दा पुर्वीय दर्शनको मूलश्रोत उपनिषद्सँग संयोग भएको देख्न सकिन्छ । यद्यपि तुलना असम्भव देख्छु किनभने पश्चिमी दर्शन चेतनाको दोस्रो तहबाट अगाडि गएको भएपनि तेश्रो तहको गहिराइ सम्म आजसम्म पनि पुग्न सकेको पाइदैन । जबकी पूर्वीय दर्शन चेतनाको पाँचौ, छौठौँ र सातौँ तहसम्म पुगिसकेको हजारौं वर्ष अगाडि वेद उपनिषद्मा उल्लेख भइसकेको पाइन्छ ।

मेरो अधुरो ज्ञानले भन्नु पर्दा दर्शन शास्त्रले मानवीय जीवनको ढाँचा तय गर्दछ । सजिलो भाषामा कुनै पनि निर्माणको लागि इन्जिनीयरले तयार पारेको आर्टिटेक्चर र स्ट्रकचरल नक्सा तथा डिजाईन जस्तै हो । आज हाम्रो देशमा जुन प्रकारको राजनैतिक स्खलन र बिचलन देखिएको छ, यही सिद्धान्तविहीन तथा दिशाविहीन र लक्ष्यविहीन भएर नै हो ।

वास्तवमा भन्नुपर्दा दर्शन शास्त्रको मझेरीमा नै उपलब्ध प्राकृतिक तथा भौतिकतामा, संस्कृति–धर्म तथा सामाजिक मूल्य र मान्यताको जन्म हुने गर्छ । परिणाम तः त्यहाँ विभिन्न महामानवहरूले समयानुकूल जन्म लिएका हुन्छन् । ती महामानवको शिक्षा र आदर्शले सम्पूर्ण जगतलाई ओत प्रोत गराउँछ । आज भगवान कृष्ण र बुद्धको दर्शनले सम्पूर्ण जगतलाई ओतप्रोत गराएको छ । समाज जति जति सम्पन्न तथा समृद्ध हुँदै जान्छ, उति–उति वैज्ञानिक र तार्किक हुँदै जान्छ । अमूर्त तत्त्वलाई पनि तर्कद्वारा मूर्तरूपमा ल्याउने चेष्टा गर्दछ । जब तर्कहरू अलमलिन्छन् तब जीवनको रहस्य तर्कभन्दा माथि, विज्ञानभन्दा माथि एक परम् अवस्था–शुन्यको अवस्थामा हुने रहेछ भन्ने बोध हुन थाल्छ । यसलाई नै, जीवन; सत्य र असत्यको दोसाँधमा पुगेको अवस्थामा अनुभव गर्न सकिन्छ । यी दुवै अवस्थाको मार्गदर्शन भगवान कृष्ण र बुद्धको दर्शनले मात्र गर्न सक्छ भन्ने मेरो स्पष्ट बुझाइ पनि हो ।

भगवान कृष्ण को हुन् र उहाँको जीवनमा उपलब्ध सम्पूर्ण शिक्षालाई १,२,३ गरेर भन्नु परेमा के–के हुन् सक्छन् ? यही प्रश्न मिटिङ पोइन्ट का संस्थापक इन्द्र रिजालजीले न्युज २४ को करीयर होराइजन कार्यक्रम तथा फ्रन्टलाइन खवरका लागि अन्र्तवार्तामा सोध्नु भएको थियो । यो अत्यन्त महत्वपूर्ण प्रश्न थियो , जबकी म यस प्रश्नको आधिकारीक व्यक्तित्व निर्माण भइ नसकेको महसुस पनि भएको थियो यद्यपि म टेलिभिजनको क्यामरामा अन्र्तवार्ता दिइरहेको थिएँ ।

सद्गुरु ओशोले कृष्ण स्मृतिमा उल्लेख गर्नुभएको छ “भगवान कृष्णलाई एक अलौकिक महान आत्मा दिव्य पुरुष र एक साधारण मनुष्यका लागि सीमाभन्दा परको अपूर्व व्यक्तित्वको संघम हुनुहुन्छ ।” त्यसैगरी धम्मपदको व्याख्यामा बुद्धको सम्बन्धमा ओशोले भन्नुहुन्छ “गौतम बुद्ध यस्तो हुनुहुन्छ जस्तो हिमाच्छादित हिमालय छ । जसको कुनै तुलना नै हुन सक्दैन । मनुष्य जातिको इतिहासमा गौतम बुद्धको अतुलनीय योगदान रहेको छ । यस युगले ल्याएको भौतिक समृद्धि, तार्किक समाज र महत्त्वकाङ्क्षी विचार प्रधानद्वारा सृजित बिचलित मनको व्यवस्थापन तथा चेतनाको परम्अवस्थाको लागि गौतम बुद्ध निर्विकल्प हुनुहुन्छ ।”

यस लेखमा भगवान् गौतम बुद्धको महिमालाई भन्दा पनि भगवान कृष्णको सम्पूर्ण जीवन–शिक्षालाई सारांशमा भन्ने चेष्टा गरेको छु ।

१) पहिलो शिक्षा – प्रेम :
एक महान सन्त श्रीपाद रामानुजाचार्यलाई एक जनाको ईश्वर भनेको को हो ? कसरी प्राप्त गर्न सकिन्छ ? भन्ने प्रश्नको उत्तरमा तिमी आजसम्म कसैको प्रेममा वा कसैलाई पे्रम गरेका छौ ? भनेर प्रतिप्रश्न गरेपछि ऊ आश्चर्यमा परेको थियो । ईश्वर प्राप्तिको लागि लौकिक प्रेमको के सम्बन्ध छ ? उत्तरमा, कम्तीमा पहिला लौकिक पे्रममा त जाऊ ! किनभने तिमीलाई ईश्वरसँग साक्षात्कार गराउन मलाई सजिलो हुन्छ ।
सद्गुरु ओशोले कृष्ण स्मृतिमा प्रेमको प्रसङ्गलाई ३ भागमा बाड्नु भएको छ ।

क) शारीरिक प्रेमः यो प्राकृतिक प्रेम हो । शारीरिक हर्मनको विकासले शारीरिक सम्बन्धको चाहाना स्वरूप विकसित प्रेम हो । अस्तित्वले सृष्टि बचाइ राख्न यस प्रकारको प्रेममा धकेलिन्छन् ।

ख) मनको प्रेम : यो शारीरिक प्रेम भन्दा माथि हुन्छ । यो भावनासँग जोडिएको हुन्छ । जति गहिरो मनको प्रेम हुन्छ, शारीरिक सम्बन्धलाई कम महत्व दिन्छ । यसलाई मनोदशामा आधारित प्रेम पनि भनिन्छ । तथापि यो स्थायी नहुन सक्छ, कारण मनको स्वभाव स्थीर हुँदैन । मनले कुनै कुरा प्राप्त गरिसकेपछि नीरसको जन्म गराउँन थाल्छ । आज जुन प्रकारले सम्बन्ध विच्छेद र कलहको उत्पाद तथा यस्तै प्रकारको मनोवृत्ति देखिएको छ यो मनको तहभन्दा माथि उठेर प्रेम गर्न असमर्थ भएर हो । मनको तहको प्रेमले एक निश्चित समयपछि विर्कषण (निरस) को जन्म गराउँछ र फलस्वरुप द्वन्द्वको सिर्जना गराउँदछ । परिवारमा, समाजमा यो भन्दा माथि एक अर्को प्रेमको तह हुन्छ भनेर शिक्षण गरिएको हुँदैन । यदि गरिएको भए पनि त्यसको प्रयोग विधिलाई अपनाइएको हुँदैन ।

ग) आत्मिक प्रेम : यो प्रेमको उध्र्वगमन हो । उध्र्वगामी प्रेमलाई प्रष्ट पार्नु पर्दा पानीको स्वभावबाट पार्ने प्रयास गरेको छु ।
– यदि पानी स्वभाव त उचाईबाट गहिराईतिर बग्छ भने यसलाई शारीरिक तहको प्रेमको उपमा दिन सकिन्छ ।
– पानी जुन उचाइबाट झरेको छ, त्यति नै उचाइसम्म अरु कुनै माध्यमबाट तल माथि गराउन सकिन्छ । मनको चञ्चलताको प्रतिरुप उतार चढाव भइरहन्छ । यसलाई मनको प्रेमको उपमा दिन सकिन्छ ।
– त्यहि पानी बाफ बनेर आकाशतिर जान्छ भने यो नै प्रेमको उध्र्वगमन हो ।

एक फ्रान्सेली मनोविद्ले भनेका छन् “मातापिताले छोराछोरीलाई दिइने प्रेम पहिलो र दोश्रो दर्जाको प्रेम हो भने छोराछोरीको मातापिताप्रतिको प्रेम उच्चकोटीको आत्मिक प्रेम हो ।” यद्यपि यहाँ सामाजिक, धार्मिक, साँस्कृतिक तथा कर्तव्य परायण भएर गरिएको सम्मान वा श्रद्धालाई आत्मिक प्रेममा समेटिएको छैन ।

भगवान कृष्णले यही उध्र्वगमनको प्रेमलाई शारीरिक तह हुँदै आत्मीय प्रेममा कसरी पुग्न सकिन्छ ? प्रयोग द्वारा शिक्षण गर्नु भएको छ । यस प्रेमलाई सम्पूर्ण पुजनीय महामानवले फरक–फरक अभिव्यक्ति द्वारा शिक्षण गर्नु भएको छ । आजको तथाकथित् सन्त, पण्डित, पुरोहित, वुद्धिजीवी…… हरूको स्वयम्को जीवन पहिलो र दोस्रोभन्दा माथि जान सकेको छैन, त्यस प्रकारको अनुभूति र प्रयोग पनि छैन तथापि शिक्षा आत्मिक प्रेमको दिइरहेका छन् । जुन उपलब्धिहीन भएको छ ।

२. दोश्रो शिक्षा – निष्काम कर्म :
सम्पूर्ण श्रृष्टि प्रकृतिको अधीनमा छ । स्वभावैले मनुष्य पनि प्रकृतिको अधीनमा हुन्छ । तथापि मनुष्यलाई मन, बुद्धि र विवेकको प्रयोग गर्न स्वतन्त्रता दिएको छ । विवेक के हो ? र यसको उचित प्रयोग कसरी प्रयोग गर्न सकिन्छ ? भन्ने सम्बन्धमा यस भन्दा अगाडि फूल फुलन्ति, कोपिला हसन्ति तथा राजनैतिक स्खलन र नागरिक कर्तव्यको लेखमा उल्लेख गरेको छु । जीवन उर्जाले भरिएको हुन्छ, जसले कुनै न क्ुनै कर्म गर्न उत्प्रेरित गरेको हुन्छ । भगवान कृष्णले कर्मशील हुनलाई उत्प्रेरित गर्नु भएको छ ।

लक्ष्य बनाऊ ! तथापि लक्ष्यका लागि आन्दोलित नबन । लक्ष्य एक साध्य हो । साध्यका लागि चिन्ता नगर । साध्यका लागि साधनारत (कर्मशील) हुन जरुरी हुन्छ । साधनामा तल्लीन होऔ । साधनामा रमाऊ । लक्ष्यका लागि साधना भन्दा पनि साधनाको लागि साधना गर । तिम्रो हातमा जे छ त्यही गर । यो नै तिम्रो तपस्या हो । जस्तो तिम्रो हातमा निस्वार्थ प्रेम दिने सामथ्र्य छ तर लिने छैन । तिम्रो हातमा प्रेमपूर्ण शारीरिक सम्बन्ध राख्न सक्छौँ तर जन्मने वा नजन्मन,े छोरा वा छोरी निर्धारण गर्न सक्दैनौ । यस्तै जीवनका हजारौँ आयाम छन् ।

श्रीमद् भगवत् गीतामा भगवान कृष्णले अर्जुनलाई यही प्रसङ्गमा भन्नु भएको छ; “युद्ध गर ! युद्ध कौशल देखाऊ ! शत्रुहरूलाई मार ! एक योद्धा भएर अगाडि बढ । तिमी योद्धा हौ, युद्ध नै तिम्रो कर्म हो । जीत–हारको चिन्ता नगर !”
भगवान कृष्णले अर्जुनलाई हिंसातिर उद्वेलित गरेको देखिन्छ । तर बझ्नु पर्ने;
– अर्जुन योद्धा थिए । युद्ध कौशलता नै जीवन भरिको तपस्या थियो । जब कौशलतता देखाउने समय भयो भाग्ने कुरा गरिरहेका थिए । भगवान कृष्णलाई के थाहा थियो भने अर्जुन अहिंसावादी भएर सन्यास लिने कुरा गरिरहेका छैनन् । आफन्त मार्नुपर्ने र मारिसकेपछि कसैलाई बहादुरी देखाउने ? सुक्ष्म अहङ्कारले अभिप्रेरित भएका थिए । अर्जुन भगवानका एक बालसखा, आफ्नै भानिज भाइ र त्योभन्दा माथि एक समर्पित शिष्य थिए । हरेक सद्गुरुको परम् कर्तव्य उसको परम् स्वतन्त्रता तथा मोक्षका लागि मार्गदर्शन गर्नु हुन्छ ।
– यहाँ भगवानले स्वजाति, स्वधर्म, तथा कर्म, अकर्म र विकर्म के हो ? भन्ने कुरा गर्नुभएको छ ।
– अपेक्षारहित सम्पूर्ण मन बुद्धिले गरिने कर्मले नै जीवन सार्थक हुन सक्छ भन्नु भएको छ ।
– कर्म यसरी गर, जुन तिम्रो ध्यान र तप बनोस् ! र कौशलपूर्ण होस् । त्यहाँ कुनै प्रकारको सुक्ष्म अहङ्कार, अपेक्षारहित, ईष्र्यारहित ईश्वरप्रति समर्पित होस् । यसैबाट मनुष्यले ज्ञानचक्षु खोल्न सक्छ, परमज्ञानी बन्नसक्छ ।
सद्गुरु ओशोका शिष्य, भारतीय कलाकार बिनोद खन्नाले मेरो अबको कर्तव्य के हुन्छ ? भनी सोध्दा, ओशो भन्नु हुन्छ; “तिमीले तिम्रो पेशालाई अझ राम्रोसँग अगाडि बढाई राख ! वास्तविक जीवनलाई अभिनय बनाऊ, र अभिनयलाई वास्तविक जीवन बनाऊ !”
३. तेस्रो शिक्षा : सफलता मात्र जीवन होइन असफलता पनि जीवन हो । सुखद क्षण मात्र जीवन होइन द्ुःखद क्षणपनि जीवन हो । सुगम परिस्थिति मात्र होइन विषम परिस्थिति पनि जीवनको आयाम हो । परिस्थितिलाई दोष दिएर मनुष्य धर्म नछोड ।
भगवान रामको जीवनीमा आधारित रामायण अध्ययन गर्दा असफलता र दुःखद क्षणहरुको गाथाले भरिएको छ । जिससलाई किला ठोकेर मार्दै गर्दा माथि फर्केर हे परम्पिता यिनीहरूलाई माफ देऊ किनभने यिनीहरूलाई थाहा छैन के गरिराखेका छौँ । मन्सुरलाई शरीरको एक एक अङ्ग काट्दै गर्दा आर्शीवाद दिइरहेका थिए । यद्यपि हामी एक साधारण मनुष्य हौँ । हामीले यस प्रकारको कष्ट सहन गर्न सक्दैनौँ । क्षमादान दिने त क्षितिज परको कुरा हुन सक्छ ।

बुझ्नुपर्ने कुराः स्वयम् भगवान कृष्णको स्वर्गारोहण एक व्याधाको वाँणबाट भएको उल्लेख छ । आफ्नो सम्पूर्ण वंश आपसी झै–झगडामा काटिएर समाप्त भएका छन् । उखानै बनेको छ, “विनास काले विपरित बुद्धि” । स्मरण गर्नु पर्ने भनेको समय सधै एकनासको हुदैन । यो त घुमिरहेको हुन्छ । तत्कालीन क्षण सुखद वा दुःखद दुवै हुन सक्छ । तथापि, धैर्य नगुमार्औँ , धर्म नछोडौँ , विचलित नबनौँ । निष्ठापूर्वक अनन्त जीवनको यात्रामा सम्पूर्ण सत्यलाई स्वीकार्दै अगाडि बढने् साहस जुटाइ रहौँ । मात्र हरेक परिस्थितिलाई सम्भव भएसम्म उपयोग गर्दै कृतज्ञता प्रकट गरिरहौँ । ईश्वरको कृपा भइरहन्छ । कृष्ण कृपा वर्षिरहन्छ ।

अन्तमा, स्वच्छन्द नभई मर्यादित र सचेत स्वछन्दतावादी हुन सक्नुपर्छ । किनभने जीवनको तिर्खा परम् स्वतन्त्रताबाटै मेटिन्छ । मोक्षका लागि उत्प्रेरित तथा अभिसिप्त हुँदै सद्गुरुहरूको मार्गदर्शनप्रति सम्भव भएसम्म क्रियाशील हुनसके मात्र रूपान्तरणको ढोका खुल्छ तर यसका लागि दृढताको बाटो रोज्ने आँट गर्नुपर्छ र याद राख्नु पर्ने कुरा फूल संवेदनशील हुन्छ । पीडा संवेदनशीललता मै हुन्छ । फुल्ने–फक्रिने धैर्यता राखौँ । जीवन त छनोट प्रक्रियाको निचोड हो ।

(लेखक फुयाल काठमाडौँको तरकेश्वर – ४, गोलढुङ्गास्थित सृजना ज्ञानसागर मा. वि. का प्रिन्सिपल प्रधानाध्यापक हुन् ।)