बैतडी– बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।


ADVERTISEMENT


डडेल्धुराको भागेश्वर गाउँपालिका–३ लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल यही साउन ८ गते बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् ।


ADVERTISEMENT

# # #


महिलाको मृत्यु कसरी भयो? भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौँ पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिएका छन् । उनका अनुसार, भेजाइनल स्वाब, मुटु, कलेजो, फोक्सोको टुक्रा तथा भिसेरा परीक्षणका लागि पठाइएको हो । ‘स्वाब र भिसेरा पठाएको १० दिन भइसकेको छ, रिपोर्ट आउन बाँकी छ’, उनले भने ।

ती महिलाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शव परीक्षण रिपोर्टमा भने हृदयाघातका कारण मृत्यु भएको देखाएको जनाइएको छ । महिलाको शरीरमा बाहिर देखिने कुनै घाउ तथा चोट केही पनि थिएन । प्रहरी निरीक्षक शाही भन्छन्, ‘हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट आए पनि हामीले कलडिटेल, उक्त दिन उनी क–कसको सम्पर्कमा थिइन् लगायतका विषयमा थप अनुसन्धान गर्दैछौँ ।’

मल्ल साउन ७ गते घरबाट माइतीघर बैतडीको मेलौली–५ सेरी आउन लागेको थिइन् । उनी माइतीघर नपुग्दै बीच बाटोमै मृतावस्थामा फेला परेकी हुन् । मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन् । रासस