काठमाडौं- चालू आर्थिक वर्ष धान उत्पादन बढे पनि करिब तीन लाख टन चामल अपुग हुने भएको छ । गतवर्षको तुलनामा यो वर्ष करिब एक लाख ७० हजार टन बढी धान फल्ने प्रक्षेपण सरकारले गरेको छ । कृषि विकास मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार यो वर्ष ५४ लाख टन धान उत्पादन हुनेछ । ‘तर यो तथ्यांक केही थपघट पनि हुन सक्छ, कृषि विभागमा महानिर्देशक डा. डिल्लीराम शर्माले भने, ‘सुरुआती अवस्थामा ५४ लाख ९१ हजार टन उत्पादन हुने प्रक्षेपण गरिए पनि तराईको बाढी र यसै साता परेको असिनाका कारण उत्पादनमा गिरावट आएको छ ।


ADVERTISEMENT


गत वर्ष इतिहासमै सबैभन्दा बढी ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । कृषि विभागको यही आँकडालाई विश्लेषण गर्ने हो भने सारा नेपालीलाई वर्षैभरि भात खुवाउन धानको उत्पादन अपुग हुनेछ । हाल नेपालको कुल जनसंख्या दुई करोड ८९ लाख ८२ हजार सात सय ७१ जना छ । उनीहरूलाई भात खुवाउन वार्षिक ३५ लाख ३५ हजार आठ सय ९८ टन (तीन अर्ब ५३ करोड ५८ लाख ९८ हजार किलो) चामल आवश्यक पर्छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पोषणसम्बन्धी तथ्यांकअनुसार एकजना नेपालीलाई वार्षिक एक सय २२ किलो चामल आवश्यक पर्छ ।
सरकारी आँकडाअनुसार चालू आर्थिक वर्ष करिब ५७ अर्ब मूल्यबराबरको ५४ लाख टन धान उत्पादन हुँदै छ । यो परिमाणको धानबाट करिब ३२ लाख ४० हजार टन चामल तयार हुन्छ । माग र उत्पादित धानका आधारमा चालू आर्थिक वर्षमा दुई लाख ९५ हजार आठ सय ९८ टन चामल (२९ करोड ५८ लाख ९८ हजार ६२ किलो) अपुग हुनेछ । सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ ।


ADVERTISEMENT

# # #


चालू आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब ५८ करोड मूल्यबराबरको चामल आयात भएको छ । मागअनुसार चामल उत्पादन नहुँदा बर्सेनि २५ अर्ब रुपैयाँभन्दा बढीको चामल भारत, इटाली, बहराइन, चीन, थाइल्यान्ड, कोरिया, जापान, मलेसिया, बंगलादेश अमेरिका, सिंगापुर र भियतनामबाट आयात हुँदै आएको छ । चालू आर्थिक वर्षको पहिलो दुई महिनामा तीन अर्ब ५८ करोड मूल्यबराबरको चामल आयात भएको छ ।

मन्त्रालयले भने खानाका रूपमा खाद्यान्न (चामल, गहुँ र मकै) प्रयोग गरेको खण्डमा सम्पूर्ण जनसंख्याका लागि २६ लाख टन चामल आवश्यक रहेको जानकारी दिएको छ । ‘खाद्यान्नका रूपमा चामलसहित गहुँ र मकै पनि प्रयोग भयो भने यो वर्ष चामल बचत भएर आयात दर निकै घट्ने मन्त्रालयको प्रक्षेपण छु, कृषि विकास मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले भने । बाढीका कारण यो वर्ष तराईका अधिकांश धानबाली डुबानमा परे पनि उत्पादनमा कुनै कमी नआउने उनले दाबी गरे ।
बाढीको पानी धेरै दिनसम्म खेतमा नजमेकाले उत्पादनमा वृद्धि हुने उनको निष्कर्ष छ । गतवर्षको तुलनामा यो वर्ष डेढदेखि अढाइ लाख टन बढी धान फल्ने अपेक्षा छ । यो वर्ष धान रोपाइँ गर्ने समयमा लामो समयसम्म खडेरी परेको थियो । खडेरीका कारण केही ढिलो गरी सुरु भएको रोपाइँ सम्पन्न हुँदै गर्दा अविरल वर्षाका कारण आएको बाढीका कारण तराईका २० जिल्लाको ८० प्रतिशत धानबाली डुबानमा परेको थियो ।

मन्त्रालयका अनुसार यो वर्ष पनि अत्यधिक परिमाणमा धान उत्पादन गर्ने जिल्लामा पाँचवटा जिल्ला दरिएका छन् । यसअनुसार झापा पहिलो नम्बरमा परेको छ । यस्तै कैलाली, मोरङ, कपिलवस्तु र रूपन्देही जिल्ला पनि अत्यधिक धान उत्पादन गर्ने जिल्लामा परेका छन् । तथ्यांक लिने काम जारी भएकाले उत्पादनको यकिन जानकारी आइपुगेको छैन । यो वर्ष १४ लाख ८३ हजार नौ सय १४ हेक्टरमा धानको रोपाइँ भएको थियो ।

कुल गार्हस्थ्य उत्पादनमा कृषिको करिब ३५ प्रतिशत र धानले मात्रै करिब २० प्रतिशत योगदान पुर्‍याउँदै आएको छ । धान उत्पादनमा तराई क्षेत्रले करिब ८० प्रतिशत योगदान दिँदै आएको छ । नेपालको कुलखेती हुने क्षेत्रफलमध्ये ५०।२ प्रतिशत जग्गामा धानको खेती हुन्छ । यसमध्ये तराईमा ६९।१ प्रतिशत, पहाडमा २६।८ प्रतिशत र उच्च पहाडी क्षेत्रमा ४।१ प्रतिशत हेक्टरमा धानखेती हुन्छ । -आजको अन्नपूर्णबाट