काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र आन्तरिक एकताका लागि आफूहरु सधैँ तत्पर रहेको र यो प्रयास नयाँ पार्टी खुलेको स्थितिमा पनि जारी रहने बताएका छन् ।


ADVERTISEMENT


पार्टीको आफू निकट जनसङ्गठनका पदाधिकारीलाई आज भर्चुअल सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले यसबीचमा गरेका कतिपय ‘गलत र एकपक्षीय’ निर्णय फिर्ता लिएमा एकता सम्भव हुने अन्यथा नयाँ पार्टीमार्फत वामपन्थी आन्दोलनको झण्डालाई फहराइने स्पष्ट गरे ।


ADVERTISEMENT

# # #


पार्टी एकताको लागि आफूहरुले अन्तिम समयसम्म प्रयत्न गरेता पनि ओलीले आफ्नो तर्फबाट ढोका बन्द भएको घोषणा गर्ने स्थिति भएकाले पार्टीलाई पुनर्गठन गर्नुपर्ने अवस्थामा आफूहरु पुगेको बताए । उनले अध्यक्ष ओलीले नै पार्टी एकता नचाहेको आरोप लगाए । ‘उहाँले गद्दारको उपाधी दिनु भएको छ । उहाँले देशद्रोहीको भन्नु भएको छ । उहाँले सबै किसिमका आरोप लगाउनु भएको छ ।’ उनले भने, ‘ती सबै आरोपहरु फिर्ता लिएर आत्मालोचना गर्ने कुनै स्प्रिट देखाउनु भएको छैन । उहाँ पार्टी विभाजन गर्न उद्धत हुनहुन्छ ।’

उनले अघि थपे, ‘यो पार्टीलाई पुनर्गठन गरिनेछ । क्रान्तिकारी पार्टीमा रुपान्तरण गरिने छ । आन्दोलनको झण्डा बुलन्द गरिनेछ । राष्ट्रियता, लोकतन्त्रको झण्डा बुलन्द गरिनेछ ।’

उनले सही कार्यदिशामा आउन तयार भएमा अहिले एकता सम्भव नभए निर्वाचनमा तालमेल वा निर्वाचनपछि पनि सहकार्य र एकताको सम्भावना सधैँ रहने बताएका हुन् । उनले आफ्ना कार्यकर्तालाई एमालेको सदस्यता नवीकरण र समानान्तर गतिविधिमा सक्रिय हुन पनि आग्रह गरे ।

आजै आफूले उपमहासचिव घनश्याम भुसालको प्रस्तावमा एकताका लागि विकल्पबारे छलफल गर्न अध्यक्ष ओली पक्षसँग पठाएको जानकारी दिँदै त्यसको प्रगति भइनसकेको बताए । उनले पार्टीले आफूसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको सुनिएकोमा विरोध गरे ।