रामपुर, पाल्पा– रामपुर नगरपालिकाको विकट र दुर्गम मानिने वडा नं १ को छम्के गाउँमा पहिलोपटक बस पुगेको छ ।नगरपालिकाको केन्द्रदेखि झण्डै पैदल तीन घण्टाको दूरीमा पर्ने छम्के गाउँमा पहिलोपटक बस पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको छ ।


ADVERTISEMENT


बुधबार रामपुर यातायात व्यवसायी समितिमा दर्ता भएको ना ६ ख ७५८० नम्बरको बस पहिलोपटक छम्के गाउँमा पुगेको हो । यात्रुलाई नियमित रुपमा सेवा दिने उद्देश्यले छम्के गाउँमा बस सेवा शुरु गरिएको समितिका अध्यक्ष एवं गाडी धनी राजन पोखरेलले बताए ।


ADVERTISEMENT

# # #


गाउँमा बस पुगेको खुशीयालीमा स्थानीयवासीले खुशी हुँदै समिति, बस धनी, गाडी चालक तथा सहचालकलाई फूलमालाले स्वागत गरेका थिए । यहाँ नियमितरुपमा बस सेवा सुचारु भएपछि नगरपालिका कार्यालयसम्म आउन जान, सदरमुकाम तानसेन, बुटवल, पोखरा, काठमाडौँलगायतका विभिन्न स्थानमा यात्रा गर्न सहज हुने स्थानीय सन्तोष अधिकारी बताए ।

यहाँबाट अन्यत्र जानका लागि समयमा नै बसपार्क पुग्न नसक्दा गाडी छुट्ने समस्याले बीचमै फर्किएर आउनुपर्ने समस्या अब भने सहज हुने देखिएको छ । घरदैलोबाटै बस चढ्न पाएपछि यस क्षेत्रका स्थानीयलाई यात्रा गर्न मात्र नभई यहाँ उत्पादित कृषिजन्य सामग्री बजारसम्म पुर्याउन सजिलो पर्ने भएको छ ।

छम्के गाउँमा रामपुरको बजारदेखि जिप सेवा सञ्चालन गरिएपछि अत्यधिक यात्रुको चाप बढ्दो रहेको हुँदा यात्रुले निकै जोखिमपूर्वक गाडी चढ्न बाध्य थिए । बस सेवा सञ्चालनमा आएपछि यात्रुले आरामदायीरुपमा यात्रा गर्न पाउने भएका छन् । सुशीला रेग्मी/रासस