काठमाडौँ – आइतबार देशैभरी वैदिक सनातन धर्मावलम्बीले रक्षाबन्धन अर्थात जनैपूर्णिमा पर्व मनाएका छन् ।


ADVERTISEMENT


हरेक वर्ष श्रावण शुक्ल पूर्णिमामा मनाइने जनै पूर्णिमा अर्थात् ऋषि तर्पणी आइतबार यज्ञोपवित धारण गरेर, रक्षा बन्धन बाँधेर र क्वाँटी खाएर मनाइएको हो । श्रावण शुक्ल पूर्णिमाको दिन मनाइने यस पर्वका अवसरमा भक्तपुर तथा लतिपुरको पाटनस्थित कुम्भेश्वरमा मेला लागेको छ । जनैपूर्णिमाको दिन वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, तलाउ, पोखरी र मन्दिरमा गएर स्नान गरी व्राह्मण पुरोहितसँग रक्षासूत्र बाँध्ने र वैदिक मन्त्रोशूक्तिले मन्त्रिएका जनै लगाउने चलन छ ।


ADVERTISEMENT

# # #


यसरी वैदिक मन्त्रोच्चारण गरेको जनै र रक्षासूत्र बाँधेमा नकारात्मक प्रभाव नपर्ने विश्वास छ । जनैपूर्णिमाको दिनमा बाँधिएको रक्षासूत्र तिहारमा लक्ष्मी पूजाका दिन खोलेर गाईको पुच्छरमा बाँधे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रही आएको छ ।

सत्ययुगमा दानवहरुद्वारा लखेटिएका देवताहरुलाई गुरु वृहस्पतिले रक्षा बन्धन तयार गरेर बचाएकोले देवताहरु अति बलवान भएको र दानवराज बलीलाई बाँध्न सफल भएको भन्ने शास्त्रोक्त कथन छ । सोही कथनअनुरुप बलवान र दीर्घायुको कामना गर्दै वैदिक सत्य सनातन हिन्दू धर्मावलम्बीहरुले जनै पूर्णिमाका दिन जनै धारण गर्ने, रक्षासूत्र बाँध्ने र क्वाँटी खाने गर्दछन् ।

त्यस्तै जनैपूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ ।

जनैपूर्णिमाकै दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई दीर्घायुको कामना गर्दै राखि बाँधिदिने र दाजुभाईले दिदीबहिनीलाई यथासख्य दक्षिणा दिने चलन छ ।