रौतहट जिल्ला निर्वाचन क्षेत्र नं.२ मा आज आफ्नै मामाको विपक्षमा भान्जाले बिहिबार उम्मेदवारी दर्ता गराएका छन् । पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता महम्मद अफताब आफलम विरुद्ध भान्जा महम्मद मुस्ताक आलमले उम्मेदवारी दर्ता गराएका छन् ।


ADVERTISEMENT


नेपाल लोकतान्त्रिक फोरमको टिकटमा दोस्रो संविधान सभाको निर्वाचनमा भान्जा मुस्ताकले मामा अफताबलाई हराएका थिए । जित पछि बनेको सरकारमा मुस्ताक स्वास्थ्य राज्य मन्त्री समेत बनेका थिए । पार्टी नेपाली कांग्रेसमा मर्ज भएपछि मुस्ताक पार्टी परिवर्तन गरी एमालेमा प्रवेश गरेका थिए । उनी एमालेकै टिकटमा प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गराएका हुन् ।


ADVERTISEMENT

# # #


मामाको विरासत आफ्नो पोल्टामा पार्ने दाउमा रहेका मुस्ताकलाई यसपाली जोडदार जावफ दिने तयारीमा मामा अफताब जुटेका छन् । संगसंगै उम्मेदवारी दर्ता गराउन आईपुगेका मामारभान्जा पार्टीका समर्थकबीच केहीबेर ताली र नाराबाजीको जुहारी नै चलेको थियो । दुवै पक्षबीच झगडा हुन नदिन उम्मेदवारी दर्ता गराउने अवधी भर बीचमै नेपाल प्रहरी र सशस्त्र प्रहरी बसेर सुरक्षा दिएका थिए ।

त्यस्तै प्रतिनिधि सभाको लागि निर्वाचन क्षेत्र नं. ३ मा वाम गठबन्धनमा तालमेल गरेको माओवादी केन्द्रका नेता एवम निवर्तमान शहरी विकास मन्त्री प्रभु साह र नेपाली कांग्रेसका कलिला नेता सुनिल कुमार यादवबीच प्रतिष्पर्धा हुने देखिएको छ । कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाको प्रस्तावक र प्रेमलाल साहको समर्थनमा मन्त्री साहले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै जिल्ला निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभामा नेपाली कांग्रेसका जिल्ला सभापति कृष्णा यादव र वाम गठबन्धनका माओवादी केन्द्रका नेता पूर्व उर्जा राज्य मन्त्री सत्यनारायण भगत उम्मेदवारी दर्ता गराएका छन् । यस क्षेत्रमा भगत र यादवबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नं. ४ मा प्रतिनिधि सभामा नेपाली कांग्रेसका नेता देव प्रसाद तिमिल्सिना र एमालेका डा. वंशीधर मिश्रबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । उक्त क्षेत्रमा यी दुवै जना बलिया उमेदवारको उम्मेदवारी परेको जानकाररुको भनाई छ । जिल्लामा शान्तिपुर्ण रुपले उल्लासपूर्वक उम्मेदवारी दर्ता भएका छन् ।

जिल्लाको चारवटै क्षेत्रमा प्रतनिधि सभाको लागि नेपाली कांग्रसले उम्मेदवारी दर्ता गराएको छ । प्रतिनिधि सभामा अहिले सम्म कांग्रेसले कुनै दलसंग तालमेल गरेको छैन । एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल जिल्लाको १ र ४ नं. क्षेत्रबाट एमालेको सिफारिसमा परेका थिए । तर उनले जिल्लाको कुनै निर्वाचन क्षेत्रबाट उम्मेदवार दिएनन् । – आजको कान्तिपुरबाट