काठमाडौँ – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परिमार्जन गरेर पास गरिने बताएका छन् ।


ADVERTISEMENT


बिहीबार पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारका प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले एमसीसीमा भएका कतिपय प्रावधानहरु सुधार गरेर मात्रै अघि बढाउने बताएका हुन् । उनले यसअघि तत्कालीन नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई आधार मानेर सुधार र परिमार्जन पछि एमसीसी पास गरिनुपर्ने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘एमसीसी नेपालको हितमा नै प्रयोग होस् र यो कुनै पनि रणनीतिक योजनाको अंग नबनोस्, विदेशीहरुको विरुद्धमा त्यो लक्षित नहोस्, नेपालको हितमा कुठाराघात नहोस् भन्ने कुरा हामी विशेष जोड दिनेछौँ ।’

उनले आफ्नो पार्टी केही दिनभित्रै सरकारमा जाने बताएका छन् । प्रतिनिधिसभालाई पूर्ण कार्यकाल चलाउनका लागि आफूहरु सरकारमा जाने उनको भनाई छ ।