काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ वाटमोरले पदबाट राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै वाटमोरले शुक्रबार राजीनामा दिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
क्यानका अनुसार वाटमोरले आईसीसी ओडीआई लिग २ अन्तर्गत ओमान सिरिजलगत्तै लागू हुनेगरी राजीनामा दिएका हुन् । नेपाली टोली ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सरिजका लागि हाल ओमानमा रहेको छ ।
नेपालले सेप्टेम्बर ५ र ८ मा पपुवान्यूगिनीसँग एकदिवसीय खेल खेल्दैछ । त्यसपछि ओडीआई लिग–२ को ओमान सिरिज सुरु हुनेछ । नेपालले सेप्टेम्बर १३ मा अमेरिविरुद्ध खेलेर सिरिज सुरु गर्नेछ । नेपालको अन्तिम खेल सेप्टेम्बर १९ मा ओमानसँग रहेको छ ।
त्यसपछि वाटमोर नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा रहने छैनन् । वाटमोर गत जनवरीमा एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकका रुपमा आवद्ध भएका थिए ।