बाग्लुङ– कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् ।


ADVERTISEMENT


कक्षागत रुपमा बार छुट्ट्याएर बालबालिकालाई पढाउन थालिएको ताराखोला गाउँपालिका–४ स्थित नेपाल माध्यमिक विद्यालयका प्रधानाध्यापक उमानाथ अधिकारीले बताउनुभयो । ‘बालबालिकालाई कहिलेसम्म पढाइबाट वञ्चित गर्ने ?’, उनले भने ।


ADVERTISEMENT

# # #



महामारीको जोखिम कम भएका ठाउँमा विद्यालय खुलेको उनको भनाई छ । नेपाल माविमा पूर्वप्राथमिकदेखि कक्षा ५ सम्म आइतबार, मङ्गलबार, बिहीबार ६ देखि ९ सम्मको कक्षा सोमबार, बुधबार, शुक्रबार र कक्षा १० आइतबारदेखि शुक्रबारसम्म सञ्चालन भइरहेको छ ।

सानो उमेरका बालबालिकाका लागि अनलाइन कक्षा प्रभावकारी नभइरहेका बेला गाउँका विद्यालयले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्रत्यक्ष सिकाइविधि अपनाएका हुन् । दुर्गममा इन्टेरनेटको सहज पहुँच नहुँदा अनलाइन कक्षा सञ्चालनमा चुनौती छ ।

केही समय विद्यार्थीका घरघरमा पुगेर टोल शिक्षामार्फत सिकाइ सहजीकरण गरिए पनि त्यसलाई निरन्तरता दिन व्यवस्थापकीय कठिनाइ भएको प्रअ अधिकारीको भनाइ छ । कक्षाकोठाभित्र भौतिक दुरी कायम गर्ने, अनिवार्य मास्क लगाउने कुरामा भने कडाइ गरिएको उहाँले बताउनुभयो । गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले कोरोना सङ्क्रमणको अवस्था हेरेर जोखिम नभएका ठाउँमा विद्यालय खोल्ने निर्णय गरिएको बताउनुभयो ।

‘सङ्क्रमण बढेको स्थितिमा त खोल्ने कुरा भएन, जोखिम नभएका ठाउँमा जनस्वास्थ्यका मापदण्डपालना गरेर विद्यालय चलाउनुपर्छ’, उनले भने । शिक्षकले कोरोना विरुद्धको खोप लगाएका कारण पनि प्रत्यक्ष सिकाइ सहजीकरणका लागि केही सजिलो भएको अध्यक्ष घर्तीले बताए । गाउँपालिकाका अन्य विद्यालयले पनि स्थानीय अनुकूलता हेरेर विद्यालयमै प्रत्यक्ष पठनपाठनको प्रबन्ध मिलाएका छन् । कतिपयले तल्लो कक्षाका बालबालिकालाई भौतिक उपस्थितिमा र माथिल्लो तहकालाई अनलाइनमार्फत पढाइरहेका छन् ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले भने अझैपनि विद्यालय सञ्चालनमा रोक लगाइरहेको छ । वैकल्पिक माध्यमबाट सिकाइलाई निरन्तरता दिन भनिए पनि गाउँका विद्यालयमा त्यो सम्भव हुन सकिरहेको छैन ।

बालबालिकाको पढाइ बिग्रने र शैक्षिक सत्र नै प्रभावित हुने देखिएपछि विद्यालय खोल्ने निर्णयमा स्थानीय तह पुगेका हुन् । तमानखोला गाउँपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर घर्तीले सुरक्षा अपनाएर विद्यालय खोल्ने विषयमा योजना बनिरहेको जनाए ।

वैकल्पिक सिकाइ सहजीकरणलाई पनि प्रभावकारी बनाउन गाउँपालिकाले पहल थालेको उनको भनाइ छ । ‘सिकाइबाट बालबालिका वञ्चित नहुन भन्नेमा हामी सचेत छौँ, विस्तारै अब विद्यालय पनि खोल्नुपर्छ’, उनी बताउँछन् । यहाँका अन्य स्थानीय तह पनि विद्यालय सञ्चालनको तयारीमा जुटेका छन् । शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख कुस्मराज उपाध्यायले महामारीको प्रकोप नभएको ठाउँमा पालो बाँडेर कक्षा चलाउनुपर्नेमा जोड दिए ।

कोरोनाको पहिलो लहर थामिएपछि केही समय खुलेका विद्यालय पुनः दोस्रो लहर भित्रिएसँगै गत वैशाखदेखि बन्द छन् । केही दिनयता यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा छ । स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमित जम्मा १७३ छन् जसमध्ये सबैभन्दा धेरै बागलुङ नगरपालिकामा ८४ सङ्क्रमित छन् भने तमानखोलामा सङ्क्रमण शून्य छ । रासस