काठमाडौं– प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित १० जनालाई पक्राउ गरेको छ । जसअन्र्तगत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट करिब ४ किलो ३५ ग्राम अवैध लागूऔषध चरेश सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा म्याग्दी मंगला गाउँपालिका– ३ ठेगाना भएका ३६ वर्षीय श्याम प्रसाद रोका र सोही ठाउँ ठेगाना भएका ३५ वर्षीय वीर बहादुर रोका मगर रहेका छन् । कतार एअरको उडानद्वारा दोहा कतार जान लागेका उनीहरुलाई बिमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुटकेसभित्र उक्त चरेश फेला पारी पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


उनीहरु उपर लागूऔषध चरेस मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरले जनाएको छ ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट ५ सय ८५ नियन्त्रित लागूऔषध नाइट्राभेट सहित सप्तरी रुपनी गाउँपालिका–६ बस्ने १९ वर्षीय शुरेश खङ्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५३१५ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंङगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार शुरेशले झोलाभित्र लुकाई ल्याएको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

मोरङ– बेलबारी नगरपालिका–८ बलुही बस्ने ७४ वर्षीय भबिलाल सहनीलाई करिब ७केजी ४ सय ४५ ग्राम अबैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ। उनले घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बाँके– नेपालगंज उपमहानगरपालिका–४ सल्यानी बङगला बस्ने २६ वर्षीय मोहन लाल कहार र सोही उपमहानगरपालिका–७ बस्ने २३ वर्षीय अबेस जोलाहलाई ९ ग्राम ५ सय मिलिग्राम अबैध लागूऔषध ब्राउनसुगर सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँके र लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त ब्राउनसुगर सहित फेला पारी पक्राउ गरेको हो ।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ लाटीकोईली बस्ने २८ वर्षीय कुबेर शाहीलाई १ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा कर्णाली प्रदेश लागूऔषध नियन्त्रण ब्यूरोर नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्दा उनलाई साथमा रहेको उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका–३ बिचपुरीस्थित हरेन्द्र चौधरीको खुद्रा पसलबाट करिब ५ सय ९८ ग्राम अबैध लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थ सोमबार राति प्रहरीले बरामद गरेको छ । अस्थाई प्रहरी पोष्ट भाँसीबाट खटिएको प्रहरीले पसल तलासी गर्दा कचौरा र प्लाष्टिकमा पोका पारी राखेको अवस्थामा उक्त पदार्थ फेला पारी बरामद गरेको हो ।

साथै सोही पसल पछाडि खैरो हेरोइन सेवन गरिरहेको अवस्थमा फेला पारी सोही ठाउँ बस्ने २५ वर्षीय करन चौधरी, २७ वर्षीय अजय चौधरी र २७ वर्षीय दिनेश कुँवरलाई २ सयमिलिग्राम खैरो हिरोइन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।