काठमाडौँ – नेपालले पपुवा न्यूगिनी (पीएनजी)विरुद्धको एकदिवसीय खेलमा तीन विकेटको जित हासिल गरेको छ । मंगलबार ओमानको अमेरत क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पीएनजीलाई दुई विकेटले हराएको हो ।
टस जितेर ब्याटिङ थालेको पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाउँदै १३४ रन बनायो । १३५ रनको लक्ष्य नेपालले ३९.३ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४१ रन बनाए । ६५ बलमा उनले २ चौका प्रहार गरे । यस्तै सोमपाल कामी २२ रन बनाएर नटआउट रहे । त्यसक्रममा उनले १ चौका र १ छक्का प्रहार गरे ।
नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे । कुशल व्यक्तिगत १५ रनमा आउट भएसँगै नेपालको विकेट पतन सुरुवात भयो । नेपालले ३१ रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमायो । त्यसक्रममा आशिफ शेख ४६ बलमा ४ चौकासहित ३० रन बनाएर आउट भए भने आरिफ शेखले ९ तथा ज्ञानेन्द्र मल्ल र शरद भेषवकरले समान ६–६ रन बनाए ।
यस्तै कुशल मल्लले १ रन बनाउँदा पवन सर्राफ गोल्डेन डकआउट भए । नवौँ नम्बरमा आएका सोमपाल कामीले रोहित पौडेलसँग आठौँ विकेटका लागि ५२ रनको साझेदारी गरेपछि नेपालको जितको आधार तय भयो । नेपाली ब्याटिङको मध्यक्रम ध्वस्त पार्नेक्रममा गौडी टोकाले उत्कृष्ट बलिङ गरे । उनले ४.३ ओभरमा १८ रन खर्चिएर ३ विकेट चट्काए । यस्तै डामियन रभु र चाद सोपेरले समान २–२ विकेट लिए । यस्तै नोसाइना पोकनाका नाममा १ विकेट रह्यो ।
यसअघि पीएनजीलाई सस्तैमा समेट्ने क्रममा १० ओभरमा ३५ रन खर्चिका सन्दीप लामिछानेले चार विकेट चट्काए ।
उनले कार्लस अमिनीलाई २३ रनमा पेवेलियनको बाटो देखाए भने सीसी बाउलाई १४ रन बनाउँदा कुशल मल्लको हातबाट क्याच आउट गराए भने जासन किलालाई एलबीडब्ल्यूको धरापमा पारे । यस्तै नोसैना पोकानालाई १ रनमा एलबीडब्ल्यूमा आउट पारे ।
यस्तै कुशल मल्ल र विक्रम सोबले २–२ विकेट लिए । नेपालका लागि डेब्यू आजै डेब्यू गरेका मध्यम गतिका बलर विक्रमले नेपाललाई पहिलो र दोस्रो विकेट दिलाए । ५ ओभरमा १ मेडेनसहित २० रन खर्चिका उनले आफ्नो डेब्यू खेलको पहिलो बलमै विकेट लिन सफल भए । जसक्रममा उनले १.१ ओभरमा टोनी उरालाई व्यक्तिगत १ रनमा बोल्ड आउट गरे भने चौथो ओभरको अन्तिम बलमा कप्तान असाद भालालाई व्यक्तिगत ४ रनमा आरिफ शेखबाट क्याच आउट गरे ।
७ ओभर बलिङ गर्दा १ मेडेनका साथ १९ रन खर्चिएका कुशलले लेगा सियाकालाई ३० रनमा कट एण्ड बोल्ड गरे भने किप्लिन डोरिगालाई कुशल भुर्तेलबाट क्याच आउट गराए । यस्तै सोमपाल कामीले ७ ओभरमा ३७ रन खर्चिएर १ विकेट लिए ।
पीएनजीका लागि लेगा सियाकाले सर्वाधिक ३० रन जोडे । ३८ बलमा उनले १ चौका र १ छक्का प्रहार गरे । यस्तै कार्लस अमिनीले २३, गौडी टोकाले २२, सीसी बाउले १४ रन बनाएर आउट हुँदा चाद सोपेर १७ रनमा नटआउट रहे ।
नेपालले पीएनजीसँगै दोस्रो खेल शुक्रबार खेल्नेछ । त्यसपछि नेपालले घरेलू टोली ओमान र अमेरिकासँगै १३–२० सेप्टेम्बरसम्म आईसीसी ओडीआई लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।