काठमाडौँ – नेपाली महिला फुटबल टिमले दशरथ रंगशालमा बंगलादेशसँग दुई मैत्रीपुर्ण खेल खेल्दैछ ।
उज्वेकिस्तानमा आयोजना हुने एएफसी कप् २०२२ छनोट अघि नेपाल र बंगलादेशले दुई मैत्रीपुर्ण खेल खेल्न लागेको हो । खेलअघि बुधबार काठमाडौंमा आयोजित प्रि-म्याच कन्फ्रेन्समा नेपाली टिमका प्रशिक्षक ग्यारी फिलिप्सले यो खेल आफ्ना खेलाडीहरुका लागि धेरै कुरा सिक्ने अवसरको रुपमा रहेको बताए ।
मैत्रीपुर्ण खेल एएफसी छनोटका लागि ठूलो मौका भएको उनले बताए । नेपाली टिमकी नियमित सदस्य तथा सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी पुर्ण रुपमा खेलका लागि तयार नभएकाले मैत्रीपुर्ण गुमाउने उनले जानकारी दिए । ग्यारीले सावित्रा टिममा नभएपनि आफुसँग मजबुत २३ सदस्यीय टिम रहेको र सबैले राम्रोे प्रदर्शन गर्नेमा आफु विश्वस्त रहेको बताए ।
प्रि म्याच कन्फ्रेन्समा बंगलादेशका प्रशिक्षक गोलम रोब्बनी छोटोनले नेपाल एउटा ठूलो प्रतिस्पर्धी रहेको र प्रतिस्पर्धात्मक खेल हुने बताए । बंगलादेशको टिममा युवा खेलाडीहरुको बाहुल्यता रहेको बताउँदै नेपाललाई चुनौती दिन आफूहरु तयार भएको उनले बताए ।
त्यस्तै, बंगलादेशकी कप्तान सबिना खातुनले नेपालसँगको खेल एएफसी क्वालिफायर्सको राम्रो तयारी हुने बताइन् । नेपाल र बंगलादेशबिचको खेल भदौ २४ र २७ गते दशरथ रंगशालामा खेल आयोजना हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।