काठमाडौं – आज नेपाली राजनीतिका एक मूर्धन्य व्यक्तित्व तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाको १०८औँ जन्मजयन्ती हो ।


ADVERTISEMENT


नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला राणाशासन पतनका एक मुख्य योद्धासमेत रहेका छन् ।


ADVERTISEMENT

# # #


उनै बिपीको आज जन्मजयन्ती विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई हुलाक मार्फत् पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो । उनका पितालाई एकप्रकारले राणा शाहीद्वारा देश निकाला गरिएको थियो ।

निर्वासनमै बिपीले भारतको स्वतन्त्रता सङ्ग्राममा भाग लिए । भारत स्वतन्त्र भएपछि नेपालमा प्रजातन्त्र स्थापनाका लागि सहज हुन्छ भन्ने सोचले उनी त्यो आन्दोलनमा सक्रिय भएका हुन् ।

भारत निर्वासनकै क्रममा जहानियाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो ।

प्रजातन्त्र स्थापना नै मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भएको थियो ।

धेरै पटक जेलनेल भोगेका कोइराला नेपाली राजनीतिमा बिर्सन नहुने व्यक्तित्व हुन् ।