काठमाडौं – चरम खाद्य संकट आउन सक्ने भन्दै चीनले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको सामग्री सहयोगको घोषणा गरेको छ । तालिबानले युद्धमार्फत सत्ता नियन्त्रणमा लिएर सरकार घोषणा गरेको भोलिपल्ट चीनले मानवीय सहायता र कोरोना भाइरसविरुद्धको सहयोग घोषणा गरेको हो ।


ADVERTISEMENT


पाकिस्तानले आयोजना गरेको अफगानिस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीचको भर्चुअल छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नलगायतको सहयोग घोषणा गरेको ग्लोबल टाइम्सले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस्तै चीनले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्धको खोप १० लाख मात्रासहित अरू स्वास्थ्य सामग्री पनि सहयोग गर्ने बताएको छ । गएको अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता के हुने हो भन्ने अन्योल छ ।

अमेरिकालगायत पश्चिमा देशहरूले तालिबान सरकारलाई सहायता गर्न उसले महिला अधिकार र प्रजातान्त्रिक मूल्य, मान्यतालाई पछ्याउनुपर्ने र अफगान भूमिलाई आतङ्कवादी समूहको आश्रयस्थल बनाउन नहुने सर्त राखेका छन् ।

संयुक्त राष्ट्र सङ्घ यूएनले अफगानिस्तानमा छिट्टै खाद्यान्न सङ्कट हुने चेतावनी दिएको छ । अहिले पनि अफगानिस्तानका आधाभन्दा धेरै बालबालिका छाक टार्नकै लागि सङ्घर्ष गरिरहेका राष्ट्र सङ्घले जनाएको छ ।