काठमाडौँ– झण्डै साढे तीन सय वर्ष पुरानो चन्द्रविनायक तथा भैरवनाथ जात्रा शनिबारदेखि चाबहिलमा शुरु भएको छ ।


ADVERTISEMENT


प्रत्येक वर्ष कात्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयबागेश्वरी, मित्रपार्क, चाबहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाइन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले सो जात्राको शुरुआत गराएको विश्वास गरिन्छ ।


ADVERTISEMENT

# # #


‘मलजा नकेगु’ भनिने जात्राको पहिलो दिन कुमारकुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइयो । काठमाडौँ उपत्यकाका चार विनायकमध्ये एक चन्द्रविनायकलाई पशुपतिनाथको छोरा मानिन्छ ।

पशुपतिनाथ अमालकोट कचहरीका द्वारेले शनिबार बिहान चन्द्रविनायक मन्दिरमा विशेष पूजा गरेपछि जात्रा शुरु भएको हो । पूर्णिमाका दिन बेलुकी मन्दिर परिसरमा धुनी जगाइयो । धुनी जगाउन पशुपतिनाथ अमालकोट कचहरीले दाउरा उपलब्ध गराउँछ ।

मार्ग शीर्ष कृष्ण प्रतिपदाका दिन बिहान अर्थात् आज बिहान चन्द्रविनायक र भैरवनाथको खट उठाइएको जात्रा समन्वय समितिका अध्यक्ष पूर्ण संगतले जानकारी दिए । “जात्राको दोस्रो दिन आज गणेशलाई ‘हलमली’ अर्थात् मकै, गहुँ, मटमास, सखरखण्ड, पिँडालु, लड्ड, पेडा र लावा चढाइन्छ, यी चढाइएका चीज प्रसादका रुपमा बेलुकी जात्रालु एवं भक्तजनलाई बाँडिन्छ”, उनले भने ।

यसैगरी आज चन्द्रविनायक तथा भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गंगाहिटीमा लगेर स्नान गराउने चलन छ । स्नानपछि दुवै खटलाई आज बेलुकी चारुमती बिहारमा लगेर बिसाइन्छ ।

मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् सोमबार दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराएर त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकमा घुमाउने गरिएको जात्रा समितिका कोषाध्यक्ष जीतेन्द्र श्रेष्ठले बताए । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गरिन्छ ।

मार्ग शीर्ष कृष्ण तृतीयाका दिन बिहान अमालकोट कचहरीका द्वारेले चन्द्रविनायक र भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । जात्रा सफलतापूर्वक समापन भएको खुशीयालीमा मंगलबार दिनभर चाबहिल क्षेत्रमा सिन्दूर जात्रा गरिन्छ ।

सो जात्राका अवसरमा कलाकार हरिप्रसाद शर्माका प्राचीन र मध्यकालीन उपत्यकाका झाँकी झल्कने चित्रकला पनि शनिबारदेखि प्रदर्शनमा राखिएको छ । प्रदर्शनी जात्राभर अर्थात् मंगलबारसम्म चल्नेछ ।