काठमाडौं – अमेरिकी सहायता परियोजना (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेपालको चार दिने भ्रमण सकेर आज आइतबार फर्किँदै छिन्।


ADVERTISEMENT


नेपालमा एमसीसी अनुमोदनका विषयमा राजनीतिक दलबीच नै मतभेद रहेको र यो विषय गिजोलिँदै गएका बेला उनी गत बिहीबार काठमाडौं पुगेकी थिइन्।


ADVERTISEMENT

# # #


चार दिने भ्रमणमा उनले प्रधानमन्त्री शेरबहादुर देउवादेखि प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग भेट गरिन्। भेटमा एमसीसी परियोजनाबारे छलफल भए पनि नेपालले ठोस धारणा दिन सकेको छैन।

काठमाडौं ओर्लेपछि उनले पहिलो भेट ओलीसँग गरेकी थिइन्। ओलीले सत्तारुढ दलमा सहमति जुटेपछि मात्र आफूहरुले धारणा सार्वजनिक गर्ने भन्दै एमसीसीको बल सत्तारुढ दलको कोर्टमा फर्काइदिए। यद्यपि आफू प्रधानमन्त्री हुँदा एमसीसी सदनमा टेबल गर्न खोजेको उनले स्मरण गराए।

सत्ता गठबन्धनको मुख्य घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसिसीबारे आफ्नो पार्टीमा दुई धार रहेको बताउँदै आएका छन्। सुमारले प्रचण्डलाई शुक्रबार भेटेकी थिइन्। प्रचण्डले ‘एमसिसीका विषयमा नेपालका सबै राजनीतिक दलबीच सहमति बनाएर अगाडि बढ्न सकिने’ जवाफ फर्काएका थिए।

एमसीसीबारे कांग्रेसभित्र त्यतिधेरै मतभेद छैन। सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले पनि राजनीतिक दलहरुबीच सहमति गरेर एमसिसी सदनबाट पारित गराउने बचन दिएका छन्।

सुमारले नेपालमा रहँदा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसालसहितसँग भेट गरेकी छन्। उनको चार दिने भ्रमणमा ठोस उपलब्धी देखिएको छैन।