काठमाडौं – तरकारी बालीका लागि अहिले भइरहेको रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि मल अभाव हुन नदिन सरकारले उत्तरी नाका तातोपानीबाट १५ हजार मेट्रिकटन (मेटन) रासायनिक मल ल्याउने भएको छ ।


ADVERTISEMENT


दक्षिणी नाकाबाट मल भित्रिन केही समय लाग्न सक्ने र भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत ल्याउने भनिएको मलसमेत आयात गर्न ढिलाइ हुने हुँदा चीनबाट रासायनिक मल ल्याउन लागिएको हो । आजभोलि लगाइने तरकारी बालीका लागि मलको अभाव देखिन गएको र गहुँबालीका लागि मौज्दात राख्नुपर्ने भएकाले सरकारले चीनमा उत्पादित रासायनिक मल आयात गर्न लागेको हो । आयात गर्न लागिएको मलमध्ये १० हजार मेटन युरिया र बाँकी ५ हजार मेटन डीएपी रहेको छ ।


ADVERTISEMENT

# # #


सिल्क मार्केट नामक नेपाली कम्पनीले आयात गर्न लागेको उक्त १५ हजार मेटन रासायनिक मल सोमवार तिब्बतको सिगात्से भन्ने स्थानमा आइपुगेको र अबको ४ दिनभित्रमा तातोपानी नाकामा आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले आर्थिक अभियान दैनिकलाई बताए ।

भण्डारीका अनुसार अहिले उत्तरी नाकामा केही अवरोध उत्पन्न भएको भए पनि नेपाली पक्षले तिब्बतको ल्हासास्थित नेपालका लागि महावाणिज्य दूतावासका अधिकारीहरूसँग रासायनिक मल आयातका लागि चाँडोभन्दा चाँडो व्यवस्था मिलाइदिन आग्रह गरिएको छ । ‘हामीले अनुरोध गर्ने हो अब चिनियाँ पक्षले नाका सहज बनाइदिएमा अबको १५ दिन भित्रमा मल विक्रेता कहाँ पुग्छ,’ उनले भने ।

चीनबाट नेपाल प्रवेश गर्ने तातोपानी नाकामा नेपालतर्फ पहिरोका कारण बाटो अवरुद्ध भएका कारण अहिले एकतर्फी रूपमा मात्र गाडीहरू सुचारु भएकाले आयातमा केही समस्या देखिन सक्ने बताइएको छ ।

सरकारी अनुदानको मल विक्रीवितरणको जिम्मा पाएका दुई सरकारी कम्पनी कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेशनसँग अहिले मलको मौज्दात निकै कम रहेको देखिएको छ । कृषि सामग्री कम्पनीसँग हाल १५ सय मेटन युरिया, २ सय ३३ मेटन डीएपी, १ हजार मेटन पोटास र करीब ३ सय मेटन कृषि चुन मौज्दात रहेको छ । यसबाहेक कृषि सामग्रीले आयात गर्न लागेको ३० हजार मेटन युरिया कोलकातामा ब्यागिङ भइरहेको छ भने २५ हजार मेटन डीएपी पनि आयातको क्रममा रहेको बताइएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनसँग ३ सय मेटन युरिया, करीब ७ सय मेटन डीएपी र १ हजार मेटन पोटास मौज्दात रहेको छ भने २५ हजार मेटन डीएपी र २५ हजार मेटन डीएपी आयातको प्रक्रियामा रहेको जानकारी कर्पोरेशनका खरीद महाशाखा प्रमुख पंकज जोशीले दिए । आर्थिक अभियान दैनिकमा खबर छ ।