कञ्चनपुर– नेपाली काँग्रेसका नेता रमेश लेखकले लोकतान्त्रिक व्यवस्थालाई जीवन्त राख्ने वा नराख्ने भन्ने बारेमा निर्णय गर्न ऐतिहासिक निर्वाचन हुन लागेको बताएका छन् ।


ADVERTISEMENT


आज कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ वन समितिमा आयोजित पार्टीको बृहत् चुनावी कार्यकर्ता भेलामा उहाँले भन्नुभयो – “संविधानमा भएको व्यवस्था बदल्छौँ भन्ने अधिनायकवाद र लोकतान्त्रिक व्यवस्था बचाउने बीचको संघर्षको रुपमा अहिलेको निर्वाचनलाई लिन सकिन्छ ।”


ADVERTISEMENT

# # #


कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहनुभएका नेता लेखकले अहिलेको राष्ट्रिय एजेण्डा संविधानको पूर्ण कार्यान्वयन भएकाले संविधान कार्यान्वयनपछि मात्रै सबै जातजाति, वर्ग, धर्म, संस्कृतिको अधिकार स्थापित हुने बताउँदै संघीयताको ग्यारेण्टी गरिएको र समावेशी चरित्रको संविधान बचाउनका लागि नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता भएको छ भने ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदले एकतन्त्रीय निरङ्कुश शासन प्रणाली अवलम्बन गर्ने वा समानता, स्वतन्त्रता, समृद्धिको बाटोमा लैजाने चिन्तनमा जाने भन्ने बीचकोे निर्वाचन हुने भएको बताए ।

नेपाली काँग्रेसले निर्वाचनमा विजयी भए मात्रै प्रजातन्त्र रहन्छ अन्यथा मुलुकबाटै प्रजातन्त्र लोप भएर जाने बताउँदै उनले भने – “लोकतान्त्रित शक्तिलाई बलियो बनाए मात्रै देश समृद्धितर्फ जान्छ ।”

नेता साउदले दुईवटा विशाल सभ्यताबीच हाम्रो देश बसेको छ भन्दै निर्वाचनपछिको शासन प्रणालीले मैत्री भावलाई दिगो र दरिलो बनाउन नसके राष्ट्रियता खतरामा पर्ने धारणा व्यक्त गरे । “कम्युनिष्टले सत्ता परिवर्तन भनेका छन् तर संसारका कम्युनिष्टले सत्ता सञ्चालन गरेको कुनै पनि देश सफल हुन सकेका छैनन्”, उनले भने ।

कार्यक्रममा प्रतिनिधि सभाका तीन, प्रदेश सभाका छ र समानुपातिकतर्फका उम्मेदवारलाई एउटै मालामा बाँधिएको थियो । विकास निर्माणमा साझा प्रतिबद्धता जनाउनका लागि उम्मेदवारलाई एउटै मालामा बाँधिएको जनाएको छ ।