काठमाडौं – नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको समूहगत छलफल सम्पन्न भएको छ । आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो ।


ADVERTISEMENT


प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसङ्गठन तथा केन्द्रीय निकाय र आयोगले आ–आफ्नो समूहमा छलफल गरेका थिए । छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गर्नेछन् ।


ADVERTISEMENT

# # #


प्रदेश नं १ बाट देवराज घिमिरे, प्रदेश नं २ बाट ज्वालाकुमारी साह, वाग्मती प्रदेशबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा, लुम्बिनीबाट लीला गिरी, कर्णालीबाट गोरख बोगटी र सुदूरपश्चिमबाट कर्ण थापाले आ–आफ्नो समूहबाट छलफलबाट आएका सुझावलाई प्रस्तुत गर्नेछन् ।

विशेष कमिटी, सम्पर्क कमिटी र प्रवासबाट सुजिता शाक्य, जनसङ्गठनबाट सुनिता बराल तथा केन्द्रीय निकाय र आयोगबाट भानुभक्त ढकालले समूह नेताका रुपमा तीनवटै प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्नेछन् ।

टोली नेताले आज सुझाव प्रस्तुत गरेपछि आइतबार राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिने बताइएको छ ।

विधान महाधिवेशनमा देशभरबाट ६ हजार ३४७ प्रतिनिधि सहभागी छन् । विधान महाधिवेशन आइतबारसम्म चल्नेछ ।