काठमाडौं – छिमेकी देश भारतमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । यसबाट नेपाली उपभोक्ताले पनि मार खेप्नुपर्ने देखिन्छ ।
आइतबार मूल्य समायोजन गर्दै भारतले पेट्रोलमा २५ पैसा भारू र डिजेलमा ३० पैसा भारू वृद्धि गरेको छ । यससँगै दिल्लीमा पेट्रोल १ लिटरको मूल्य १०२.३९ भारू र मुम्बईमा १०८.४३ भारू पुगेको छ । डिजेल पनि आकाशिएको छ ।
दिल्लीमा डिजेलको मूल्य प्रतिलिटर ९०.७७ भारू र मुम्बईमा ९८.४८ भारू पुगेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ । भारतमा राज्यले लगाउने करलगायत कारण फरकफरक मूल्य पर्छ । भारतले क्रुड आयल खरीद गरी आफैं प्रशोधित गरी इन्धन बिक्री गर्छ । भारतमा मूल्य बढ्दा नेपाल आयल निगमको नोक्सानीसमेत बढ्ने निगमको दाबी छ ।
इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट नयाँ मूल्यसूची नेपाल आयल निगमले पाइसकेको छ । निगमका अनुसार यो सूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने निश्चित छ ।
अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन विक्रीबाट १ अर्ब ५० करोडभन्दा बढी नोक्सान हुने निगमको प्रक्षेपण छ । नेपाली बजारमा पनि यसको असर देखिन सुरु भइसकेको छ । आर्थिक अभियान दैनिकबाट ।