काठमाडौं – नेकपा (एमाले)मा अध्यक्ष केपी शर्मा ओलीलाई देवत्वकरण गर्न थालिएको छ । एमालेले मदन भण्डारी, पुष्पलाल, मनमोहनका नाम नै लिन छाडिसकेको देखिन थालेको छ । एमाले महाधिवेशनमा यस्तै देखिन्थ्यो । ओलीलाई देवत्वकरण गर्दै एमालेले उनलाई झनै शक्तिशाली बनाएको छ।
एमालेमा माधवकुमार नेपाल पक्ष बाहिरिएपछि ओलीलाई टक्कर दिने नेता कोही देखिएका छैनन्। ललितपुर गोदावरीमा तीन दिन चलेको पहिलो विधान महाधिवेशन ‘ओलीमय’ बन्यो । त्यहाँ उनका मात्र कुरा भए । मदन पुष्पलाल त नाम मात्रको कम्युनिष्ट भएको त्यहाँ देख्न सकिन्थ्यो । यो महाधिवेशनले अबको विधि र नीतिको टुंगो लगाउँदै १० औं राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १३ गतेसम्म बुटवलमा गर्ने तय गरेको छ। नेतृत्वमा पनि ओली नै दोहोरिने देखिएका छन् ।
एमालेले कार्यकारी पदमा ७० वर्षे उमेरहद कायमै राखे पनि ओलीलाई ‘सुविधा’ दिएको देखिन्छ। कार्यकालकै बीचमा ७० वर्ष पूरा भएछ भने कार्य गर्न पाउने उपमहासचिव विष्णुप्रसाद पौडेलले बताए। ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नभइसकेको अवस्थामा उम्मेदवार हुन पाइन्छ’, उपमहासचिव पौडेलले भने, ‘७० वर्ष भन्नाले छोएको होइन, पूरा नहुन्जेलसम्म उम्मेदवार हुन पाउने भनिएको हो।’ ओली आगामी फागुनमा ७० वर्ष पुग्दै छन्। नेतृत्व छान्ने महाधिवेशन मंसिरमै तोकिएको छ।
एमालेले एउटै कार्यकारी पदमा दुईपटक मात्रै उम्मेदवार हुन पाउने व्यवस्थासमेत गरेको छ। ‘उसले हारोस् वा जितोस्, उही पदमा दुईपटक मात्रै उम्मेदवार हुने व्यवस्था गरेका छौं’, पौडेलले भने।
विधान महाधिवेशनमा ओली अध्यक्ष भएपछि पार्टीको अवस्था, उनले पहिलो र दोस्रो पटक सरकारको नेतृत्वमा रहेका बेला गरेका कामबारे वृत्तचित्र देखाइएको थियो। प्रतिनिधिले संविधान निर्माण, नाकाबन्दी, २०७४ सालको निर्वाचन परिणाम, साढे तीन वर्ष सरकारमा रहँदा गरेका कामको प्रशंसा गरेका थिए। नेताहरूले ओली एमालेको मात्रै होइन राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको बताएका थिए।
एमालेले अब तीनै तहका निर्वाचन जिति सत्ताको बागडोर पुनः आफूले लिने उद्घोष गरेको छ। विधान महाधिवेशन समापनका क्रममा आइतबार ओलीले निर्वाचनतिर केन्द्रित हुन नेतारकार्यकर्तालाई निर्देशन दिएका छन्। यससम्बन्धी प्रस्ताव नै महाधिवेशनले पारित गरेको छ। ओलीले १५ महिनाभित्र हुन लागेका तीनै तहका निर्वाचनमा बहुमत ल्याउने तयारीसाथ अघि बढ्न निर्देशन दिए। ‘जितेर आएका छौं, अब जितेर देखाउँछौं’, ओलीले भने, ‘हामीले जित्नै पर्छ। हाम्रो विजय यात्रा कसैले रोख्न सक्दैन।’
उनले देश बनाउने कर्तव्य एमालेको भएको बताए। ‘स्थानीय निर्वाचनमा जित्नै पर्छ। प्रदेश र संघमा पनि हामीले बहुमतसहित सरकार बनाउनुपर्छ’, उनले भने। प्रदेश र केन्द्रीय सरकार पनि एमालेको बहुमतले बन्ने दाबी उनले गरे। उनले छिट्टै हुने स्थानीय निर्वाचनमा पार्टीलाई विजयी बनाउन सक्रियताकपूर्वक लाग्न निर्देशन दिए। अन्नपूर्ण पोष्टबाट ।