नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ)का अध्यक्ष  नैनसिंह महर संग गरिएको कुराकानीको सम्पादित अंश :


ADVERTISEMENT


चुनावको मिति नजिकिँदै गर्दा नेपाली कांग्रेसले आफ्नो तयारीलाईं कुन रुपमा अगाडी बढाएको छ ?


ADVERTISEMENT

# # #


नेपालका जनता जहिले पनि लोकतान्त्रिक पद्धतिका साथमा रहेका कारणले, किनकी २००७ सालमा जनताकै बलमा राणा शासन अन्त्य भयो । २०४६ सालको परिवर्तन पनि जनताकै साथका कारण सम्भव भएको हो । जसरी संविधान सभाका माध्यमले हामीले संविधान जारी गरेका छौँ । यो संविधान पनि देशीविदेशी शक्तिको दबाबमा नपरी जनताको साथमा नेपाली कांग्रेसको नेतृत्वले निर्माण गरेको हो । यसबाट के बुझिन्छ भने नेपालका जनता सधैँ प्रजातन्त्रका पक्षमा छन् । निरंकुशतावादी चिन्तनका खिलापमा छन् । देशी विदेशी हस्तक्षेपका खिलापमा पनि नेपाली जनता छन् ।

पछिल्लो समय अधिनायकवाद लाद्ने जस्तो खालको प्रपञ्च अगाडी बढेको छ, लोकतन्त्र धरापमा पर्ने कुरा हामीलाई जसरी प्राप्त भएको छ । यसका प्रति नेपालका जनता सचेत छन् । त्यसमा पनि ६० प्रतिशत जति नेपालका पढेलेखेका युवाहरु जसले विश्वलाई बुझेका छन् । विश्वमा कम्युनिस्ट शासनको बारेमा बुझेका छन् । उनीहरुले पनि अभिभावकलाई भनेका छन् कि कम्युनिस्टले देशको विकास गर्दैन त्यसैले झुटका पछि लाग्नु हुँदैन भन्नेकुरा विदेशमा बसेका नेपालीले समेत भनिरहेका छन् । कम्युनिस्टका नाममा यो देशमा अधिनायकवादको विरुद्धमा पुस १ देखि लोकतन्त्रका लागि लड्नुपर्ने बेला आउन सक्छ भन्ने खतराको संकेत पहिले नै थाहा भएका कारण जनता सचेत छन् र नेपाली जनता प्रजातन्त्रका पक्षमा भोट हाल्न आतुर छन् । कांग्रेसको तयारी पनि सोही अनुरुप भएको छ ।

नेविसंघले केही दिन भित्र ‘मेची-काली अभियान’ सुरु गर्दैछ भन्ने सिनिएको छ । यसको बारेमा अलिकती बताइदिनुस् न

हामीले ‘जाग्दैछ मेची काली, जागौँ सबै नेपाली, कांग्रेस नै हो यसपाली’ भन्ने अभियान सुरु गरेका छौँ । सधैँ मेचीबाट कालीसम्म अभियान हुन्थे । यसपाली हामीले कालीबाट बाट मेचीको अभियान सुरु गर्दैछौँ । यसमा हामीले हरेक सार्वजनिक स्थलमा, हरेक जिल्लाको सदरमुकाममा हामीले जनतालाई विशेष गरी कम्युनिस्ट एकताको भण्डाफोर गर्नका लागि जनतालाई एक ठाउँमा जम्मा गरेर सत्य कुरा भन्नु पर्नेछ । अर्को नेपालमा भएको विकासको जे जती श्रय छ त्यो नेपाली कांग्रेसलाई छ । २०१६ सालसम्म पनि राणा खलकका केही व्यक्तिले मात्रै शिक्षा आर्जन गर्ने अवस्था थियो । तर नेपाली कांग्रेसको सरकार भइसकेपछि त्रिभुवन विश्वविद्यालयको स्थापना ग¥यो । पञ्चायतमा दुईवटा विश्वविद्यालयमात्रै थिए । आज १० वटा पुगिसकेका छन् । गुणस्तरीय तथा प्राविधिक शिक्षामा देशले ठूलो फड्को मारेको छ । यस्तै स्वास्थ्य, सडक, सञ्चारको विकास तथा विस्तार लगायत विकासका अन्य थुप्रै कामहरु नेपाली कांग्रेसको पालमा भएका छन् । तर यी सबै प्रयाप्त होइनन् । देशको समृद्धि अझै बाँकी छ ।

मुलूकलाई समुद्धिको दिशामा लिने बेलामा कम्युनिस्ट अधिनायकवादी सरकार स्थापना गर्ने प्रपञ्च रचिँदैछ । भर्खरै केपी ओलीले भनेका छन् कि बहुमत आयो भने व्यवस्था परिवर्तन गरिदिन्छौँ । के हो व्यवस्था परिवर्तन भनेको ? ज्ञानेन्द्रको जस्तै निरंकुश शासन लाद्ने हो कि उत्तर कोरियाको जस्तै मानिसले खान नपाउने वा सञ्चारका माध्याममा जान नपाउने र पाउरोटी खाएर बाँच्नुपर्ने व्यवस्था लागू गर्ने हो ? के हो व्यवस्था परिवर्तन भनेको ? यो खतरा नआउन दिनका लागि हामी देशव्यापी रुपमा अगाडी बढ्नुपर्छ र खतरापूर्ण सचेत बनाउनका लागि हामी जनता र युवा कम्युनिस्ट सरकार बनाउने लक्ष्यका विरुद्ध हाम्रो अभियान हो ।

निर्वाचनको मुखमा आएर अहिले तपाईहरुले विकास र समृद्धिको नेतृत्व गर्छौँ भनिरहनु भएको छ । कसरी गर्नुहुन्छ ?

फाउन्डेसन हामीले सबै बनाएका छौँ । राजनीतिक परिवर्तनका कुराहरुलाई बडो कुशलताका साथ हामीले सुरक्षित अवतरण गरेका छौ । पहिलेका निरंकुश व्यवस्थालाई हटाएर अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको राजनीतिक प्रणालीलाई हामीले स्थिरतातर्फ लिएका हौँ । यति भइसकेपछि अब हामी मुलूकमा समृद्धि स्थापना गछौँ भनेका छौ । कांग्रेसको पालमा २०१६ सालमा विश्व विद्यालय खोलेर अहिले दश वटा पुगेपनि यो प्रयाप्त होइन । हामीले सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्नुपर्छ भनेका छौ । सडक पुगेको छैन । त्यो पुर्याउनु पर्यो । घरमाथि बाटै बिजुली गएको छन् तर पैसा तिर्न नसकेर कयौँ घर अध्यारोमा छन् । थुप्रै ठूला अस्पताल खुलेका छन् तर पैसा नहुँदा कयौँ नागरिकले अकालमै ज्यान गुमाउनु परेको छ । खानेपानीको पैसा तिन नसकेर तल खोलामा पुगेर डोकोमा पानी भरेर ल्याउने जनताको संख्या धेरै छ । यस्ता सबै कुराहरु पूरा गर्नका लागि हाम्रो अभियान हो विकास र समृद्धि ।

नेविसंघले निवाचनमा आफूलाई कुन रुपमा परिचालन गर्छ ?

नयाँ नेपाल बनाउने नेपाली कांग्रेसको योजनालाई साकार पार्नका लागि नेविसंघले सम्पूर्ण रुपमा आफ्नो शक्ति चनावमा केन्द्रित गराएको छ । अहिले पनि देशका १९ हजार भन्दा बढी मतदान केन्द्रमा नेविसंघले ५० जनाका दरले जनताको सुरक्षाका लागि राज्यलाई सहयोग पुग्ने गरी स्वयम्सेवक खटाउने गरी व्यवस्था गरेको छ । सबै स्थानीय तहमा प्रचारप्रसार कमिटीको बन्दोबस्त गरेका छौँ । क्याम्पसका प्रतिनिधि समेटेर जिल्ला प्रचारप्रसार कमिटी बनाउने याजना बनाएका छौ । भर्खरै हामीले पछिल्लो राजनीतिक विकासका बारेमा राष्ट्रिय रणनीतिक प्रशिक्षण सम्पन्न गरेका छौँ । त्यस बाट हामीले केही योजना दिएका छौँ । देशमा कम्युनिस्ट गठबन्धनबाट आउनसक्ने खतरालाई निस्तेज पार्नका लागि तथा लोकतन्त्रलाई संस्थागत गर्दै विकास र समृद्धिको मार्गदर्शन गर्नका लागि हामीले साथीहरुलाई खटाएका छौँ ।

तपाई सरकारको नेतृत्व गरिरहेको दल नपाली कांग्रेसको भातृ संगठन नेविसंघको अध्यक्ष हुनुहुन्छ । भोलिको दिनमा राष्ट्रिय राजनीतिमा नेतृत्व गर्न सक्ने सम्भावना बाकेको व्यक्ति पनि हो । सबै दलहरुजस्तै तपाईहरुले पनि समृद्धिको कुरा गरिरहनु भएको छ । खासमा यो समृद्धि भन्ने चिज कहिलेसम्म आउँने हो ?

यो एकदम जटिल प्रश्न छ । वर्तमान पार्टीका नेताहरुको साच्चिकै बुद्धि फिर्यो भने, अब देशको लागि साच्चिकै गर्नुपर्छ भन्ने भावना पैदा भयो भने र तपाई हामी जस्ता युवाहरु गलत कुराका विरुद्धमा प्रतिवाद गर्ने क्षमता हामीमा संचित गर्न सक्यौँ भने देश निर्माण २०/२५ वर्षमा थुप्रै देशले कायापलट गरेको हामीले देखेकै छौँ । नेपाललाई २०/२५ वर्षभन्दा बढि लाग्दैन । यो देशको समृद्धि, जनताको समृद्धि गरेर यसलाई विकशित मुलूकको स्तरसम्म पुर्याउनका लागि नेपाललाई धेरै वर्ष कुर्नु पर्दैन ।

निर्वाचनको समयमा जनतालाई तपाईको सन्देश के छ ?

नेपाली कांग्रेस जनताको पार्टी हो । नेपालीकै पार्टी हो । हामीले विपी कोइराला, सुवर्ण शमशेर, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोइराला, शुशिल कोइराला, शैलेजा आचार्य लगायतका नेताहरुको फोटो राखेर हामीले आफ्नो कार्यक्रम चलाउँछौँ । हामीले आफ्नै पार्टीका नेताको पूजा गछौँ । तर अर्को तर्फ एक खालको राष्ट्रवादी कुरा गर्ने तर नेपाल भित्रका नेताको फोटो पूज्न नसक्ने दलपनि छ । कार्लमाक्स, माओजस्ता विदेशी नेताको फोटोको पूजा गर्ने र मुठ्ठी कस्दै झण्डाका रुपमा बिदेशकै हसिया हथौडा प्रयाग गर्ने दल पनि छन् । झण्डादेखि घोषणापत्रसम्म सबै कुरा विदेशबाटै आयात गर्नेले किन राष्ट्रियताका कुरा गर्नु ? तर हामीले नेपालमै नेपालीले नै बनाएको झण्डा र सिद्धान्त बोक्छौँ । त्यस कारण नेपाली कांग्रेस राष्ट्रियताको पक्षमा छ । नेपाली जनता कांग्रेसको पक्षमा छन् । जनताले यतिबेला बडा न्यायपूर्ण रुपमा सचेतताका साथ फैसला गर्नुपर्ने बेला आएको छ । विदेशी भूमीमा बनेका घोषणापत्र नेपालमा लागू हुन सक्दैन । विश्वबाट लखेटिएको कम्युनिस्ट व्यवस्था नेपालमा लागू गर्ने अवस्था जो आउँदैछ यो कुरालाई बुझेर जनताले फैसला गर्नु पर्छ । मैले बारम्बार भन्ने गरेको छु डेट एक्सपाएर मेडिसिन नेपालमा लागू गर्नु हुँदैन । यसले देशलाई नै ठूलो आघात पुर्याउँछ ।

अन्त्यमा, निर्वाचन पश्चातको सरकारको नेतृत्व नेपाली कांग्रेस वा वाम गठबन्धन कसले गर्छ ? यसमा तपाईको प्रक्षेपण कस्तो छ ?

बन्दुकबाट व्यवस्था परिवर्तन गर्ने भनेर हजारौँ निर्दोष जनतालाई मारेर आएकाहरुका बन्दुक र हसिया हथौडामा अहिले खिया लागेको छ । कम्युनिस्ट सिद्धान्त राख्नेहरुले लोकतान्त्रिक व्यवस्थामा आउने कुरा गरेका थिए । हाम्रो समाज भनेको डाकु रत्नाकरबाट ऋषि वाल्मिकी बनेको समाज हो । सुध्रिहाल्छन् कि भनेर उनीहरुलाई एक जनताले मत दिएका हुन् । आज जुन किसिमबाट कम्युनिस्ट पार्टीका नेताबाट पछिल्ला अधिव्यक्ति आइरहेका छन् व्यवस्था पविर्तन गर्ने । त्यो कुरा सुन्नेबित्तिकै नेपाली जनताको ठूलो रियाक्सन आएको मैँले देखेको छु । नेपाली जनताले यसलाई पचाउन सकिरहेका छैनन् । लोकतन्त्रलाई पो हामीले भोट दिएको हो कम्युनिस्ट व्यवस्था बनाउनका लागि होइन भनेर जनता चिढिएका छन् । त्यस कारण लोकतान्त्रिक पद्धतिलाई बचाउनका लागि, नेपाली कांग्रेसले आजसम्म गरेका ऐतिहासिक उपलब्धीको स्मरण गर्दै नेपाली जनताको साथ नेपाली कांग्रेलाई नै हुन्छ । त्यस कारण हामीले आत्तिनु पर्ने केही कारण छैन । पुस १ गतेतिर बन्ने नयाँ सरकार नेपाली कांग्रेसको नेतृत्वमा लोकतान्त्रिक गठबन्धनको पाँच बर्षे स्थीर सरकार बन्छ । कांग्रेसकै नेतृत्वमा नेपालमा शान्ति र समृद्धि आइसकेकाले समृद्धिको एजेण्डाका कार्यान्वयनको नेतृत्व पनि हामीले नै गछौँ ।