काठमाडौं – निरन्तर खेलकुद क्षेत्रमा सक्रिय रहेका नेकपा एमालेका नेता तथा नेपाल खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतलाई प्रदेश १ सरकारले (प्रदेश १ खेलकुद विकास बोर्डको सदस्य सचिव)मा   नियुक्त गरेको छ ।


ADVERTISEMENT


प्रदेश १ मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सदस्य सचिवको कार्यभार सुम्पिएको हो ।


ADVERTISEMENT

# # #


खेलकुद र सामाजिक कार्यमा सक्रिय रहेका बस्नेतले सदस्य सचिवको कार्यभार पाएपछि खेलकुद क्षेत्रको गरिमा बढाउने काम गर्ने बताए ।

बस्नेतले भने, ‘खेलकुद कुनै पनि देशका लागि सबैभन्दा महत्वपूर्ण अंग हो, नेपाली खेलाडीहरुले हाम्रो देशको झन्डा विदेशी भूमीमा फहराइरहेका हुन्छन् । तर, देशमा समयसमयमा खेलाडीहरु पलायन भएका समाचार आइरहेका हुन्छन् । उनीहरुको अवस्थाबारे एउटा विशिष्ट कार्यदिशा बनाएर यो क्षेत्रले राम्रोसँग काम गर्न सकेको छैन, त्यसका लागि म पहल गर्नेछु ।’

बस्नेतले आफूले खेलकुद महासंघको वरिष्ठ उपाध्यक्ष भएपछि नेपालमा खेलकुद क्षेत्र र खेलाडीको अवस्थाबारे थप गहिराइमा बुझ्न पाएकाले अब प्रदेश सरकारले दिएको जिम्मेवारी गम्भीर, उत्तरदायी र पारदर्शी भएर निर्वाह गर्ने पनि बताए ।

हाल प्रदेश एकको सरकार अल्पमतमा परिसकेको अवस्थाा पनि छ । यस्तो अवस्थामा लामो समय सदस्य सचिव रहेर काम गर्न भने बस्नेतलाई चुनौती नै छ । यसलाई बुझेका बस्नेतले थपे, ‘काम गर्नका लागि लामो समय र छोटो समय भन्ने हुँदैन, एउटा विशिष्ट कार्यदिशा बनाएर र नीतिगत रुपमा त्यसलाई कार्यान्वयनमा ल्याउनका लागि म जति दिन यो जिम्मेवारीमा हुन्छु, त्यति दिन त्यसको विशिष्टतालाई ख्याल गर्छु र काम गर्नका लागि वातावरण बनाउँछु ।’

बस्नेतले आफूले जतिसक्दो छिटो नेपाली खेलकुद र प्रदेश १ को खेलकुदको उचाइ बढाउनका लागि आफू निरन्तर लाग्ने पनि बताएका छन् ।

‘खेलकुदले एउटा ठाउँ मात्र होइन, हाम्रो राष्ट्रको चिनारी उँचो बनाइरहेको हुन्छ,’ उनले भने, ‘त्यसैले विश्वमा नेपाली खेलकुदलाई थप बलियो बनाउन के गर्नु पर्छ भन्ने विषयमा खेलाडी, यो क्षेत्रका विज्ञहरुसँगको परामर्श गरेर तत्काल काम सुरु गर्नेछु ।’ बस्नेतले सोमबार दिउँसो सदस्य सचिवको सपथ लिँदैछन् ।