– कुसुम भट्टराई


ADVERTISEMENT


कोरोनो भाइरस महामारीपछि विश्वभरका मानिस घरभित्र मानौँ कैद भए । लकडाउनका कारण विभिन्न देशले आफ्नो आन्तरिक र बाह्य सीमा नै बन्द गर्नुप¥यो । सन् २०२२ पछि विकसित मुलुकहरु सीमामा लगाइएको प्रतिबन्ध खुकुलो पार्ने तयारीमा छन् । सहरबजारमा रेस्टुरेन्ट, सिनेमा हल र सार्वजनिक सवारीका साधन खुल्दैछन् ।


ADVERTISEMENT

# # #


चीनबाट सुरु भएको कोरोनाको कहर अब मत्थर हुँदैछ । मानिसहरु फेरि विदेश यात्रामा जुटदैछन् । तर, चीनका राष्ट्रपति सी चिन फिङचाहिँ करीब दुइ वर्षदेखि चीनबाट बाहिर कतै गएका छैनन् । उनी भिडियो कन्फ्रेन्सबाटै आफ्नो कुरा राखिरहेका छन् ।

हालै मात्र अमेरिकामा संयुक्तराष्ट्र संघको महासभा सम्पन्न भयो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विश्वका धेरै सदस्य मुलुकका राष्ट्र र सरकार प्रमुख सहभागी भए । तर, सीले भिडियो कन्फ्रेन्सबाटै यूएन महासभालाई संवोधन गरे ।

अमेरिकी राष्ट्रपति जो वाइडेन सीसँग भेटघाट गर्न चाहन्छन् । वाइडेनले द्विपक्षीय शिखर सम्मेलनको माग गरे पनि सी चाहिँ अनलाइन बैठकका लागि मात्र सहमत भएका छन् । सीले २०२० जनवरी १७ मा म्यानमारको भ्रमण गरेयता देशबाहिर कदम राखेका छैनन् । उनले यसबीचमा विश्वका राष्ट्र प्रमुखसँग टेलिफोनमै वार्ता गरे । रुसी राष्ट्रपति भ्लादिमिर पुुटीन, जर्मन चान्सलर एंजेला मर्केल र फ्रान्सका राष्ट्रपति एम्यानुुअल म्याक्रोलगायत करीब ६० राष्ट्र प्रमुखसँग फोनमै कुराकानी गरे ।

सीले दर्जनौं अन्र्तराष्ट्रिय वैठकमा पनि भर्चुअल रुपमै भाग लिए । २०२१, सेप्टेम्बर ९ मा आयोजित ब्रिक्स वैठकमा उनी भर्चुअल रुपमै सहभागी भए । यही अक्टुुबरमा रोममा हुने जी–२० सम्मेलनमा पनि सी सशरीर उपस्थित हुने कुनै खबर छैन । यसैगरी सीले चीनमा अमेरिकी विदेशमन्त्री, सिंगापुरका प्रधानमन्त्री र डेनिश प्रधानमन्त्रीसँग हुने भनिएको बैठक पनि कारण नखुलाई स्थगित गरियो ।

आखिर सी किन यस्ता शिखर सम्मेलन र वार्ताहरुमा प्रत्यक्ष सहभागी भइरहेका छैनन् ? किन उनी देशभित्रै खुम्चीएका छन् ? विदेसी मिडियामा प्रकाशित रिपोर्ट अनुसार सीको स्वास्थ्य अवस्था सन्तोषजनक छैन । ‘सिंगापुर पोष्ट’का अनुसार सन् २०१९ मा फ्रान्स भ्रमणका क्रममा सी केही खोच्याउँदै हिंडेको देखिन्थे । फ्रान्सेली राष्ट्रपतिसँग भेटवार्ताका क्रममा उनले बस्नुअघि कुुर्सीको सहारा लिएको पनि देखियो ।

सेनजेन विशेष इकोनोमिक जोनको स्थापनाको ४० औं वार्षिकीमा राष्ट्रपति सी निर्धारित समयभन्दा अबेर मंचमा भाषणका लागि उपस्थित भए । मंचमा एक घन्टा भाषणका दौरान उनले धेरै सुस्तसुुस्त बोले । भाषण क्रममा उनले बारम्बार खोकेको र पानी खाएको पनि देखियो ।

स्वास्थ्यकै कारण सी विदेश भ्रमणमा नगएको अडकल काटिए पनि कारण यो मात्र हैन ।

कोरोना भाइरसका कारण चीनले विश्वव्यापी आलोचना झेल्नुप¥यो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरसको नाम ‘चाइना भाइरस’ राख्नुपर्नेसम्मको माग गरेका थिए । अमेरिका, अष्ट्रेलियालगायतका धेरै देशले चीनमाथि छानविन हुनुपर्नेसम्मको माग राखे । चिनीया जहाजहरु बन्द भए, आयात र निर्यात प्रभावित भयो । एक हदसम्म चीनको अन्र्तराष्ट्रिय छवीमा आँच आयो ।

भारतका सुरक्षाविद ब्रम्हा चेलानीले हालै एक ट्वीट गर्दै चिनियाँ कम्युनिष्ट पार्टीभित्र सत्ता संघर्ष चलिरहेको दाबी पनि गरेका छन् । कतै सत्ता पलटको डरले सी चीनले देश नछाडेका त हैनन् भन्ने कतिपय कुटनीतिक विश्लेषकको आँकलन छ । यदि यो साँचो हो भने चीनमा सीको शासन धरमर भएको मान्नुपर्ने हुन्छ ।

चीनको संविधानमै सीलाई अझै केही कार्यकाल राष्ट्रपति बनाउने प्रावधान छ । नदेखिने र नसुनीने चीनको आन्तरीक संसारमा के घटीत भइरहेको छ, त्यसबारे बाँकी विश्व अनविज्ञ नै छ । तर, विस्तारै कुनै न कुनै रुपमा गुम्सीएको चीनको तातो बहस बाहिरसम्म ध्वनीत हुन थालेको छ ।

चिनियाँ मामिलाका विशेषज्ञ रोजर गर्सिडेका अनुसार सी चीन पिङ कुनै पनि बेला सत्ताबाट हटाइन सक्छन् । ‘चिनियाँ कम्युनिष्ट पार्टीका उच्च तहका दुुई तिहाइभन्दा बढी अधिकारी तथा नेता लोकतन्त्र र मानवअधिकार बहालीका पक्षमा छन्’, १५ वर्षदेखि चीनको उच्च पदमा रहेका एक चीनीया अधिकारीको हवाला दिदै विशेषज्ञ रोजरले भनेका छन्, ‘धेरै वर्षसम्म चीनीया कम्युनिष्ट पार्टीको विचारधारा पढाउँदै आएका मानिस पनि अचेल लोकतन्त्रप्रति झुकाव राख्दैछन् ।’

चीनमा केही दशकयता बढदै गएका विजनेस टाइकून्स पनि राष्ट्रपति सीका लागि चुनौती बन्दै गएका छन् । वैश्य यूगमा पुँजीपतिहरु हावी हुनसक्ने खतरा देखेर सी शासनले ज्याक मालगायतका ठूला व्यवसायिमाथि कार्वाही चलायो । यसले चीनले अर्थव्यवस्थामा नकारात्मक प्रभाव पार्न थालेको छ भने अर्कोतिर आन्तरिक असन्तुष्टी बढ्दैछ ।

देशका अर्बपतिहरु ठूूलो शक्तिका रुपमा हावी भएमा राजनीतिमा पनि प्रभाव पार्लान् भन्ने डर सरकारलाई छ । यही कारण हालैको एक भाषणमा सीले देशको विकास असन्तुलित हुँदै गएको स्वीकार्दै ‘साझा समृद्धि नै अन्तिम लक्ष्य’ हुनुपर्नेमा जोड दिए । अर्बपतिलाई तह लगाउन बेइजिङले नजरबन्दी र शुुआङगुुइ नामक अनुशासनको कर्वाही चलाउँदै आएको छ, यसले पनि चीनका व्यवसायी असन्तुुष्ट देखिन्छन् ।

राष्ट्रपति सीले आन्तरिक चुनौतीसँगै बाह्य चुनौती पनि सामाना गर्नु परिरहेको छ । छिमेकी देशहरुसँग चीनको सम्बन्ध समुधुर छैन । ताइवान कब्जा गर्ने उसको अभिष्ट कायमै छ । हालै मात्र चीनले ताइवानको वायुु प्रतिरक्षा क्षेत्रमा आफ्ना १५० वटाभन्दा बढी लडाकु विमान घुसाएर द्वन्द्व निम्त्याएको छ । ताइवानले स्वतन्त्रता घोषणा गरेमा युद्ध छेडने चीनको तयारी छ ।

त्यहाँ ताइवानलाई अमेरिकालगायतका मुलुकले सैन्य सहयोग गर्दै आएका छन् । ताइवान आसपासका समुद्री क्षेत्रमा अमेरिकी युद्धपोत जहाजहरु पनि चलखेल गरिरहेका छन्, जुन चीनका लागि टाउको दुखाइ हो । यसका साथै हङकङ, शिनजियाङ, तिब्बत र भारतसँग पनि चीनको सीमा विवादका समस्या छन् ।

भारत र चीनको सीमाको लाइन अफ कन्ट्रोलमा दुुबै मुलुकका सेना युद्ध मनस्थितिमा तैनाथ छन् । जापानसँग चीनको पुरानै शत्रुता हो, दक्षिण चीन सागरको एउटा मुख्य टापुुलाई लिएर दुुबै मुलुकबीच विवाद जारी छ ।

हालै मात्र अमेरिकाले इराक, इरान, अफगानिस्तान आदी मुलुकलाई भन्दा हिन्द प्रशान्त क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको छ । दक्षिण चीन सागर र पुूर्वी चीन सागरमा अमेरिकालगायतका मुलुकको ध्यान केन्द्रित भएको छ । यी क्षेत्रमा अमेरिकाले विभिन्न बेसमार्फत पाँच लाख सेना तैनाथ गरिसकेको छ ।

दक्षिण चीन सागरमा चीनको बढदो सैन्य दबदबामाथि अंकुश लगाउन अमेरिका, भारत, जापान, बेलायत र अष्ट्रेलियासमेत एक गठ भएका छन्, जसले चीनमाथि दबाब बढाएको छ । क्वाड शिखर वार्ता चलिरहेकै बेला अमेरिकाले परमाणु उर्जामा आधारित पनडुुब्बी निर्माणका लागि अष्ट्रेलियालाई सघाउने ‘अकुश सम्झौता’ गरिसकेको छ ।

अष्ट्रेलियाले खुलेरै अमेरिकाको पक्ष लिएपछि चीनमाथि थप दबाब गरेको हो । किनकी, अष्ट्रेलिया र चीनबीचको व्यापारमा यसले असर पार्न थालेको छ । अष्ट्रेलियाबाट कोइला निर्यात हुन छाडेपछि र अन्र्तराष्ट्रिय बजारमा कोइलाको भाउ बढेपछि चीनका विद्युत गृहहरु बन्द हुन थालेका छन् । कोइलाबाट चल्ने थर्मल प्लान्ट बन्द भएकाले विद्युत संकट झेलिरहेको चीनका मुख्य शहरहरुमा अन्धकार छाएको छ । घरहरुमा बिजुली कटौती गरिएको छ ।

अष्ट्रेलियाले केही समय यता भारतसँग व्यापारिक सम्बन्ध बढाउन थालेको छ । हालैमात्र अष्ट्रेलियासँग भारतले २० लाख मेट्रीक टन कोइला खरिद गरेको छ । चीनको बन्दरगाहमा कोइला बोकेर गएका अष्ट्रेलियन जहाज भारततिर डाइभर्ट भएका छन् । भारत र अष्ट्रेलियाबीच व्यापारका अन्य धेरै सम्भावनाबारे वार्ता सुरु भएको छ । भारतलाई आफ्नो प्रमुख बजार बनाउने ताकमा रहेका अष्ट्रेलियाले भारतसँग यसै नोभेम्बर महिनामा उर्जा बार्ता पनि गर्दैछ, जुन चीनका लागि माइनस प्वाइन्ट हो ।

आन्तरिक र बाह्य दबाबमा पनि राष्ट्रपति सी चीन पिङ भने विश्वलाई चुुनौती दिदै हुँकार गर्न छाडेका छैनन् । उनले चिनिया कम्युनिष्ट पार्टी स्थापनाको सय वर्षका अवसरमा चिनिया जनताले एउटा नयाँ सँसार बनाएकाले चीन अब कसैसँग नझुक्ने बताएका थिए ।

‘चीन कसैसँग डराउनेवाला छैन । चीनलाई धम्क्याउने हिम्मत गर्नेहरुले चीनका १ अर्ब ४० करोड जनताको लौह पर्खालको शक्तिको सामना गर्नुपर्नेछ’, राष्ट्रपति सीले भनेका थिए, ‘चीन अब कसैसँग दब्नेछैन । कुनै पनि विदेशी शक्तिले हामीलाई धम्क्याएको, तर्साएको या दबाउन खोजेको चीन सहने छैन ।’

अहिले चीनमा कम्युनिष्ट पार्टीकै शासन छ । चिनियाँ कम्युनिस्ट पार्टी पोलिटब्युराका केही सीमित सदस्यकै हैकममा विशाल चीन सञ्चालित छ । एक सयभन्दा कम सदस्यबाट सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीमा हाल साढे नौ करोड सदस्य रहेको बताइन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीमा माओत्से तुुङपछि सबैभन्दा शक्तिशाली हालका राष्ट्रपति सी चीन पिङ नै हुन् । उनको हातमा पार्टीको बागडोर आएपछि चिनियाँ समाजमा झन कठोर नियन्त्रण हुँदै आएको छ । मानिसहरुमाथि सरकारले निगरानी राख्ने क्रम बढेको छ । सूचना आदान प्रदानमा रोक लगाइएको छ । विदेशी संचार माध्यममाथि अँकुश छ । वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता छैन । मानव अधिकारको त कुरै नगरौं ।

केही समययता चिनियाँ कम्युनिस्ट पार्टी पनि आन्तरिक र बाह्य दबाबको चेपुवामा पर्दै आएको छ । अमेरिकी राष्ट्रपति जे वाइडेनले हालै भनेका छन्, ‘अमेरिकी नेतृत्वले चीनजस्तो फौलदो निरंकुशताको सामना गर्नैैपर्छ । चीन जसरी अमेरिकाको प्रतिद्वन्द्वी भएर आइरहेको छ, चीनलाई अब अमेरीकाको प्रतिद्वन्द्वी हुँदाको परिस्थितिको पनि सामना गर्नुपर्नेछ ।’