काठमाडौँ – सरकारले साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली फुटबल टोलीका प्रत्येक खेलाडीलाई जनही ५ लाख रुपैयाँले सम्मान गर्ने भएको छ ।


ADVERTISEMENT


सागको २८ वर्षे इतिहासमा पहिलो पटक फाइनल पुगेको नेपाली टोलीलाई प्रोत्साहनस्वरुप सरकारले जनही ५ लाख दिन लागेको हो । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यस्तै मन्त्रिपरिषद्ले प्रशिक्षकलाई जनही ३–३ लाख रुपैयाँ दिने निर्णय गरेको उनले बताए ।

माल्दिभ्सको मालेमा शनिबार राति भएको साफ च्याम्पियनसिपको फाइनल खेलमा नेपाल भारतसँग ३–० गोल अन्तरले पराजित भएको थियो । विभिन्न पाँच राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल लिग चरणमा उपविजेता बन्दै फाइनल पुगेको थियो भने भारतले लिगको शीर्ष स्थानमा रहँदै फाइनल खेलेको थियो ।

लिग चरणमा नेपालले माल्दिभ्स र श्रीलङ्कालाई हराएको थियो । यस्तै भारतसँग पराजित भएको नेपालले बङ्गलादेशसँग बराबरी खेलेको थियो ।

सोमबार बिहान स्वदेश फर्किएको नेपाली टोलीलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।