काठमाडौं – मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताहरूबीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा छलफल भएको छ ।


ADVERTISEMENT


छलफलमा सहभागी गृहसचिव टेकनारायण पाण्डेका अनुसार मुख्य गरी दुई विषयमा कुराकानी भएको थियो । मुद्दाको अवस्थाको बारेमा दुवै पक्षबाट विगतमा पेस भएको सूचीमा पछिल्लो समयसम्म भएको प्रगतिसमेतका आधारमा ‘भेरिफाइ’ गरी अन्तिम सूची तयार गर्ने विषयमा दुवै पक्ष सहमत भएको पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


त्यस्तै बाँकी रहेका मुद्दाहरूलाई कसरी किनारा लगाउने र बन्दीहरूलाई रिहा गर्ने सम्बन्धमा प्रशासनिक, कानुनी र प्राविधिक निकास निकाल्ने गरी अर्को बैठक बस्ने निष्कर्ष निस्किएको पण्डेले बताए ।

सरकारको तर्फबाट गृहमन्त्री खाँणसहित महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव पाण्डे, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र गृह मन्त्रालयका कानुन सहसचिव कमल खत्री सहभागी थिए । नेकपाको तर्फबाट प्रवक्ता खड्कबहादुर विश्वकर्मा सहभागी थिए ।

विश्वकर्माले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । वार्ता सकारात्मक रूपमा अघि बढेको छ, उनले भने, ‘यसअघि सरकार र पार्टीको वार्ता टोलीबीच भएको सहमतिलाई टुङ्ग्याउन सरकार र विषेश गरी गृहमन्त्रीले पहल कदमी लिइरहनु भएको छ, त्यो सराहनीय छ ।’

आन्तरिक रूपमा दुवै पक्षले सहमति गरेर अर्को बैठकमा टुङ्ग्याउने गरी वार्ता सम्पन्न भएको बताउँदै उनले दुवै पक्ष सकारात्मक भएकाले अर्को बैठकमा टुङ्गिने आशा व्यक्त गरे ।

गृहमन्त्री खाँणले आइतबार नेकपासँगको सहमति कार्यान्वयनका लागि कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, सचिव उदयराज सापकोटा, महान्यायाधिवक्ता खाती र गृहसचिव पाण्डेसँग छलफल गरेका थिए ।