चितवन – निर्वाचनको मिति नजिकिएसंगै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन-३ मा बिहिबारदेखि घरदैलो सुरु गरेका छन्।


ADVERTISEMENT


कतै घरमै पुगेर उनी हात जोडिरहेका छन् त कतै गाडीमा उभिएर हात हल्लाएर उपस्थिति दर्शाइरहेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई घरदैलो पनि कडा सुरक्षा दिइएको छ। उनलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले वरिपरिबाट घेरा हालेर मात्र मतदाता भेट्न दिइरहेका छन्।


ADVERTISEMENT

# # #


प्रचण्डको घरदैलोमा सुरक्षाकर्मीसहित सात गाडी घरदैलोमा पुगेका छन्। वृद्धवृद्धाले प्रचण्डलाई आशिर्वाद दिइरहेका छन्। घरदैलोमा प्रचण्डसँग फोटो खिच्नेहरू धेरै छन्। प्रचण्डलाई उनीसँगै रहेका प्रदेश सभाका उम्मेदवार रामलाल महतोले चिनाइरहेका छन्। महतो आफू प्रदेश सभा र प्रचण्ड प्रतिनिधिसभाको उम्मेदवार भएको बताइरहेका छन्।

बिहिबार उनले भरतपुरको वडा नं १३ मा मत मागेका थिए। शुक्रबार उनले वडा नं ९ मा मत मागेका छन्। शुक्रबार मत माग्दै प्रचण्डले ‘तपाई‌ंको आशिर्वाद होस्’, भन्दै ९९ वर्षिया वृद्धासँग फोटो खिचाए।

प्रचण्डको घरदैलोमा उनलाई राष्ट्रको नेतृत्वकर्ताको हिसाबले माइकिङमार्फत प्रस्तुत गरिएको छ।

‘नेपाली राजनीतिका केन्द्रविन्दु, आशा र भरोसाका केन्द्रविन्दु, चितवनको शान’, भन्दै प्रचारमा खट्नेहरूले उनको पक्षमा माइकिङ गरिरहेका छन्।

प्रचण्ड आफैंले पनि चितवनको विकास र देशको नेतृत्वका लागि चुन्न मत मागिरहेका छन्।

तस्बिरहरु : रासस