देशमा अहिले निर्वाचनमय वातावरण छ । निर्वाचनको मिति नजिकिएसंगै सबै दलहरुले आफ्नो चुनावी प्रचारप्रसार कार्यक्रमलाई तिव्रता दिएका छन् । जनतालाई विभिन्न आशा देखाएर तथा प्रतिवद्धता व्यक्त गरेर कसरी हुन्छ आफ्नो पक्षमा भोट तान्ने रणनीतिमा व्यस्त छन् । राजनीतिक विकल्प खोजिरहेका जनताकालागि एउटा उत्कृष्ट विकल्पका रुपमा अहिले विवेकशील साझा पार्टीले आफूलाई अघि सारेको छ । फोहोर राजनीतिलाई सफा गरेर देशको परिवर्तन गर्ने सपना देखिरहेको साझालाई यस पटकको चुनावमा जनताले कत्तिको विश्वास गर्लान् ? त्यो एउटा प्रतिक्षित विषय बनेको छ । विवेकशील साझा पार्टीले पनि आफ्नो चुनावी कार्यक्रमलाई अघि बढाइरहेको छ । काठमाडौँ क्षेत्र नं ६ मा साझाले रमेश चिलुवाललाई प्रतिनिधि सभाको लागि उम्मेदवार बनाएको छ । यस पटक राष्ट्रिय पार्टी बन्ने लक्ष्य राखेको साझालाई जनताले पत्याउलान् त ? दशकौँदेखि राज गरिरहेका अन्य ठूला पार्टीसंग चुनाव लड्न कत्तिको चुनौतिपूर्ण छ ? उनले आफ्नो चुनावी अभियानलाई कसरी अगाडी बढाएका छन् ? लगायतका विषयमा उनै रमेश चिलुवालसंग हिमालयपोष्टले गरेको कुराकानी :


ADVERTISEMENT


निर्वाचन संघारमा छ । चुनावी व्यस्तता कत्तिको बढेको छ ?


ADVERTISEMENT

# # #


एकदमै बढेको छ । तर हामी संगठित रुपले तयार भइसकेका छैनौँ । तयारी बाँकी नै छ । तरपनि आफ्नो तर्फबाट दुई चार जना कार्यकर्ताहरु, शुभचिन्तकहरुसंग बस्ने, योजना बनाउने काम भइरहेको छ । यस हिसाबले व्यस्त नै छु भन्नुपर्छ ।

बाहिरबाट हेर्दा अब देशमा यी-यी कुराहरु परिवर्तन हुनुपर्छ भनेर भन्नु र आफै उम्मेदवार भएर जनतामाझ जानुमा कत्तिको गाह्रो/अप्ठ्यारो हुँदो रहेछ ?

हो, हिजोसम्म म मतदाता मात्रै थिएँ । म पहिलो पटक उम्मेदवार भएको हुँ । यसभन्दा अघि म कुनै पार्टीको चुनाव प्रचारप्रसारमा समेत संलग्न भएको थिइँन । मलाई सँधै यो कुरा मनमा लागिराखेको हो । म दश वर्ष अमेरिकामा पढेर फर्किसकेपछि पनि देशको अवस्था त्यति राम्रो थिएन । ६०/६१ सालमा म फर्किँदै गर्दा काठमाडौँमा माओवादीबाट मेरो आफ्नै दाईको हत्या भएको थियो । अमेरिकामा संगै बस्ने साथीहरुले तपाई नेपाल नजानुस् भनिरहनु भएको थियो । नेपालमा भएका युवाहरु त अमेरिका आउने सपना देखिरहेका छन् । तपाई यस्तो सुविधामा भएको मान्छे नेपाल नजानुस् भन्नु भएको थियो ।

त्यस्तो अवस्थामा म नेपाल आएको थिएँ । एउटा आशा थियो कि नेपाल कसैले बनाउँछ भन्ने । माओवादीले आन्दोलन त्यागेर शान्ति प्रक्रियामा आउँदा त्यतीबेला माओवादीप्रति मेरो धेरै आशा थियो कि अब देशमा सकारात्मक परिवर्तन हन्छ भन्ने । त्यस्तै अन्यपार्टी प्रति पनि आशा नजागेको होइन । तर परम्परागत पार्टीहरुबाट त्यो सुधार हुने अवस्था कत्तिपनि छैन । पूराना पार्टी अब चर्किएर कर्याक कुरुक भइसकेको घर हुन् । त्यसलाई भत्काएर नयाँ निर्माण नगरुञ्जेलसम्म केही हुने म देख्दिँन । यहि देखेर विवेकशील साझाको युवा साथीहरु लागिरहनु भएको छ । बाजे, काकाको पुस्ताले यो देशमा विकास गर्न सक्दैन भनेर उहाँहरु राजनीतिमा लाग्नु भएको छ । यो देखेर नै उहाँहरुलाई सहयोग गर्नुपर्छ भनेर म लागेको हुँ । खासमा म एउटा प्रतिनिधि पात्र मात्र हुँ नेता होइन ।

तपाईहरु अहिले जनताको प्रतिनिधि पात्र भएर फोहोर सफा गर्न आएका हौँ भनिरहनु भएको छ । खासमा यहाँ के-कस्ता फोहोर छन् ?

एउटा कुुरा सबैले स्वीकार गर्नु पर्छ कि हामी सबै तह र तप्काका नेपाली बिग्रेका छौँ । राजनीति मात्र होइन हरेक क्षेत्र फोहोर छ । एउटा ट्याक्सी ड्राइभर भन्नुस् वा एउटा पसले अथवा ठूलो तहका मानिस सबै कँही न कँही बिग्रका छौँ । राजनीतिक विसंगतिले गर्दा सबै क्षेत्रमा फोहार छ । त्यसलाई सुधार गर्ने भनेको तलबाट होइन । माथिबाट नै सुरु गर्नु पर्छ र राजनीतिबाट नै सुरु गर्नु पर्छ भन्ने सोच लिएर हामी आएका हौँ । हामी र हाम्रा नेताहरु हामी नस्ट हुन्छौँ तर भ्रष्ट हुँदैनौँ भन्छौँ । देशलाई हाम्रै जीवनकालमा परिवर्तन गर्नुपर्छ भनेर हामी आएका छौँ । विद्यार्थी युनियन, ट्रेड युनियन, कर्मचारीको संगठन बनाउन होइन देशको भविष्य बनाउन आएका हौँ । हामी जनताको दैनिक जीवनमा प्रभाव पार्ने किसिमका बन्द, हड्ताल, चक्काजाम गर्दैनौँ । हामी हतियार लिएर चन्दा उठाउने काम गर्दैनौँ । यस्ता भद्रताले गर्दा जनताले हामीलाई एकदमै उत्साहका साथ हेरिरहेका छन् । जनतामा राजनीति प्रति देखिएको जुन किसिमको वितृष्णा छ । त्यसलाई हटाएर सुसंस्कृत राजनीतिको जग बसाउन आएका हौँ । फोहोर भएर त हामी सफा गर्न आएका छौँ ।

जनतामा राजनीतिप्रति जुन किसिमको निराशा थियो । त्यसलाई तपाईहरुले विस्तारै चिर्ने बाटोमा लागिरहनु भएको छ । तरपनि एकैचोटी त्यो सफा गर्ने ठाउँमा पुग्नका लागि जनताले विश्वास गर्लान् ?

हामी उदाहरण स्थापित गर्न चाहान्छौँ । हाम्रा उम्मेदवारहरु सबै ठाउँमा छैनन् । अहिले यो दाबी गर्दैनौँ कि हामी सत्तामा पुग्छौँ । बहुमतको सरकार बनाउँछौ । हामीलाई यसपटक राष्ट्रिय पार्टी बन्न दिनुस् भन्ने हाम्रो जनतासमक्ष अनुरोध हो । हाम्रा केही उम्मेदवारले जित्यौँ भने जनप्रतिनिधि कस्तो हुनुपर्छ भन्ने उदाहरण स्थापित गछौँ यसपटक । तपाईहरुले देख्नु भयो होला लोकमान सिंह कार्कीको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता गर्ने बेला संसद्मा तीन जना सांसद पनि भएनन् । हामीले केही स्थानमा जित्यो भने त्यस्ता जनता र देशको पक्षमा संसद्मा जोडदार रुपमा उभिन्छौँ ।

तपाईको क्षेत्रमा घरदैलो पनि सुरु भइसक्यो होला । जनताको प्रतिक्रिया कस्तो पाउनु भएको छ ?

हो,  हामीले घरघरमा गएर भोट मागिरहेका छौँ । भोट माग्दा वृद्ध आमा बुवालेहरुले कुन पार्टी भनेर सोध्नु हुन्छ । विवेकशील साझा पार्टी भनिसकेपछि उहाँहरुले ए त्यो ? मेरो छोरा त त्यही पार्टीका कुरा गर्दैछ । मेरो नाति त त्यही पार्टीको कुरा गर्दैछ, मेरो छोरी त त्यही पार्टीको कुरा गर्दैछ भनेर भन्नुहुन्छ । यसको मतलब जनताले हाम्रो बारेमा केही न केही जानकारी पाएका रहेछन्, देश परिवर्तनका लागि जनता वैकल्पिक शक्ति खाज्दै रहेछन् भन्ने हो ।

आफ्नो बारेमा पनि जनतासमक्ष चिनाइदिनुस् न कि रमेश चिलुवाल को हो भनेर ?

मेरा अन्य साथीजस्तै म पनि यो देशमा राम्रो नेतृत्व आओस् र मुलूकलाई समृद्ध बनाओस् भन्ने आशा गर्ने मान्छे हुँ । अहिलेको अवस्थामा म प्रतिनिधि पात्रको रुपमा उम्मेदवार भएर आएको छु । म लमजुङको एउटा गाउँमा जन्मिएर अध्यययनको शिलशिलामा काठमाडौ पढ्न आएँ र अमेरिकामा पनि गएर ब्याचुलर र मास्टर्स गरेँ । त्यस पछि देश पर्किनु पर्छ भनेर म नेपाल फर्किएको पनि अहिले १०-१२ वर्ष भइसक्यो । म शैक्षिक परामर्शमा थिएँ । अहिले त्यो छोडेको छु । अघि मैँले भनेजस्तै विवेकशील साझाले जुन अवधारणा लिएर आएको छ । त्यसमा म अत्यन्त प्रशंसक थिएँ । केही कुरा अगाडी बढाउन सकिन्छ कि भनेर म काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार उम्मेदवार भएर आएको छु ।

एउटा उम्मेद्वारप्रति त्यस क्षेत्रका जनदताका धेरै आशाहरु हुन्छन् । हरेक दिनका समस्याको सम्बोधनदेखि लिएर विकास निर्माण गर्नेसम्म अपेक्षा हुन्छन् । ती कुराहरुलाई कत्तिको मस्तिष्कमा राख्नु भएको छ ?

मलाई के लाग्छ भने प्रतिनिधि सभाको एउटा व्यक्ति भनेको सम्पूर्ण विकासका कुराहरुमा सहभागी हुने होइन । टोलमा गएर हामी जनतालाई के भन्दैनौँ भने, यहाँ बाटो भत्केको रहेछ मलाई भोट दिनु भयो भने पिच गरिदिन्छु, पुल बनाइदिन्छौँ या अन्य कुराहरु । हामी नीति निर्माण गर्ने ठाउँमा जाने हो । पुल, सडक बनाउने त्यस अन्तर्गतका निकायहरु छन् । त्यहाँका मानिसलाई ‘मोटिभेट’ गर्ने, सञ्चालन गर्ने, इमान्दार भएर काम गर्ने वातावरण सिर्जना गर्ने र व्यवस्थित रुपमा सञ्चालन गर्ने प्रणालीको विकास गर्ने कुरामा हामीले योगदान पुर्याउँछौँ । हामीले गर्न सक्ने खालका मात्र प्रतिवद्धता गछौँ । त्यो कुरा जनताले बुझिदिनु भयो भने अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ ।

उत्साह कत्तिको छ ?

पार्टीबाट उठ्ने साच्दै गर्दा धेरै कुरामा मैँले विचार पुर्याएको हुँ । यो पार्टीलाई राष्ट्रिय पार्टी बनाउनुपर्छ, थ्रेसहोल्ड पार गर्नका लागि देशभरिबाट नै सहयोग गर्नुपर्छ । धेरै ठाउँबाट उम्मेदवार उठेपछि भोट संकलान गरेर राष्ट्रिय पार्टी बनाउन सकिन्छ भन्ने सोचिरहेको थिएँ । तर अहिले जुन किसिमको उत्साह छ त्यसले हामीमा साँच्चिकै आशा थपेको छ । आशाबाट विश्वासमा पुग्न बाँकी छ । त्यो अर्को खुट्किला हो । त्यहाँ पुग्न समय लाग्छ । मानिसहरु अहिले विवेकशील साझा पार्टीप्रति जुन किसिमको आशा राख्नु भएको छ त्यसले झनै उत्साह पैदा गरेको छ । तर हामीले मेहनेत गर्नु पर्छ । हाम्रा कुराहरुलाई इमान्दारपूर्वक जनतासामू पुर्याउनु पर्छ । म पनि एकदमै उत्साही छु ।

अन्त्यमा, आम मतदाताहरुलाई के भन्नुहुन्छ ?

हाम्रो पार्टी विवेकशील पार्टी । हामी निर्वाचनका बेला विवेकको प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छौँ । त्यसैले हामी यहाँहरुले निर्वाचनमा आफ्नो विवेकको प्रयोग गर्नुस्, पाँच दश पटक सोच विचार पुर्याएर भोट हाल्नुस् भन्छौँ । पार्टीको पहिलेको इतिहास र सबै पार्टीले गरेका कामहरुले हामीलाई अहिले कन अवस्थामा र कुन संस्कृतिमा पुर्याएका छन् भनेर सोचिदिनुस्, बुझिदिनुस् भन्छौँ र साझा पार्टी कम्युनिस्ट वा कांग्रेस कसैको पार्टी होइन । यो सबै जनताको साझा पार्टी हो । यस पटक विवेकशील साझा पार्टीको तराजुमा भोट हालेर हामीलाई केही गर्ने मौका दिनुस् भन्ने चाहन्छु । आफ्नो देशको भविष्य कस्तो बनाउने भन्ने कुरा एक पटक सोचेर भोट हाल्नुस् । साच्चिकै हामी इमान्दार भएर यो देश परिवर्तन गर्न आएको हौँ ।