बागलुङ– नेकपा एमालेको आसन्न महाधिवेशनका लागि सुरू भएको वडा अधिवेशनमा बागलुङका ७१ वडामा नेतृत्व चयन भएको छ । तीमध्ये नेतृत्व तहमा महिलाको सहभागिता शून्य रहेको छ ।


ADVERTISEMENT


अधिवेशन हुन बाँकी रहेका १४ वडामा पनि महिला नेतृत्वमा आउन सक्ने छाँटकाट देखिएको छैन । कमिटिमा ३३ प्रतिशत भन्दाबढी महिलाको सहभागिता रहेको दाबी गरिएपनि मूल नेतृत्वमा पुरुष मात्र चुनिएका हुन् । जिल्लाका ८५ वडामध्ये एउटामा पनि महिला नेतृत्व चुनिन नसक्नु समावेशी सिद्धान्त विपरीत भएको कतिपयको ठहर छ ।


ADVERTISEMENT

# # #


एमालेका महिला नेता, कार्यकर्ता पनि त्यसप्रति असन्तुष्ट छन् । एमाले निकट अखिल नेपाल महिला सङ्घकी जिल्ला अध्यक्ष सावित्रा रानाले आफूहरु निर्णायक ठाउँमा हुँदाहुँदै पनि महिलालाई नेतृत्वमा उभ्याउन नसकिएको स्वीकार गरिन् । ‘झट्ट हेर्दा महिलाहरु नेतृत्वमा नआएजस्तो देखिएपनि वडा किमिटिमा अर्थपूर्ण सहभागिताको सुनिश्चितता भएको छ’, उनले भनिन्, ‘आफ्नो योग्यता, क्षमता बढाउँदै नेतृत्व विकास गरेर अघि आउने वातावरण महिलालाई बनेको छ ।’

गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका रानाले पहिलेदेखि नै जकडिएको संरचनाका कारण राजनीतिको अग्रभागमा पुरुष देखिने गरेको बताइन् । समावेशिताको आवाज उठ्न थालेपछि पहिलेको तुलनामा राजनीतिमा महिलाको सहभागिता बढेको उनको भनाइ छ । ‘हामीले अपेक्षा गरेझैँ त भएको छैन, तर केही उपलब्धि चाहिँ पक्कै भएका छन्, त्यसलाई सकारात्मक रुपमा लिनुपर्छ । नेतृत्वदायी भूमिकामा आउन नसक्नुलाई महिलाको असक्षमतासँग जोडेर हेर्न मिल्दैन’, उनले भनिन् ।

पार्टीमा लामो समय योगदान गरेका पुरष नेतामाथि अन्याय हुने ठानेर पनि कतिपय महिला नेतृत्वमा आउन हिच्किचाउने गरेका छन् । समावेशिताका नाममा महिलालाई नेतृत्वमा ल्याउँदा पुरुषलाई अन्याय हुन्छ की ? भन्ने दयापूर्ण मनोदशा पनि बेलाबेला राजनीतिमा देखा पर्छ । प्रदेशसभा सदस्य रानाले अहिलको वडा अधिवेशनमा महिलाहरु पनि नेतृत्वका हकदार हुन् र उनीहरु सक्षम छन् भन्ने परिदृश्य देखिएको बताइन् । एमाले जिल्ला सचिव विष्णु भुसालले अध्यक्षमै नआएपनि पदाधिकारीसहित कमिटिमा महिलाहरुको राम्रो उपस्थिति रहेको उनको भनाई छ । ‘वडा कमिटिमा ३३ प्रतिशतभन्दा बढी नै महिलाहरु चुनिनुभएको छ, यसलाई राम्रो उपलब्धि मान्नुपर्छ’, उनले सुनाइन् ।

योगदान, क्रियाशीलता, समय व्यवस्थापन आदि कारणले नेतृत्वमा पुरुषको अग्रसरता बढी देखिनु स्वभाविक रहेको सचिव भुसाल बताउँछन् । वडा तहमा बसेर पार्टी काममा क्रियाशील हुने महिलाहरुको संख्या न्यून भएको स्थितिमा अहिले देखिएको सहभागितालाई सकारात्मक रुपमा लिनुपर्ने उनको तर्क छ । ‘नेतृत्वमा महिला आउन असक्षम हुनुहुन्छ भन्ने होइन, यही प्रक्रियाबाट महिला अघि आउने वातावरण बन्छ, पार्टीले त्यसका लागि उपयुक्त भूमिका खेल्छ’, उनले भने । सचिव भुसालले समावेशी सिद्धान्तलाई आत्मसाथ गरेर पार्टी अघि बढ्ने उनले प्रतिबद्धता जनाएका छन् ।

शनिबार देशभर एकैसाथ एमालेको वडा अधिवेशन शुरु भएको थियो । जसअन्तर्गत यहाँका ७१ वडामा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । बाँकी रहेका १४ वडामा आजदेखि अधिवेशनको प्रकृया आरम्भ भएको एमाले जिल्ला कमिटिले जनाएको छ । महाधिवेशनपूर्व तल्ला तहमा भइरहेका भेला, अधिवेशनले एमाले वृत्तमा उत्साह थपेको बताइएको छ । रासस